काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेको छन् । मंगलबार राति भएको समूह चरणको खेल बाट इंग्ल्यान्ड समूह विजेताको रुपमा र अमेरिका उपविजेताको रुपमा अन्तिम–१६ मा प्रवेश गरेका हुन् ।
कतारको अल अहमेद बिन अली रंगशालामा भएको खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० ले पराजित गर्दा अल थुमामा रंगशालामा भएको खेलमा अमेरिकाले इरानलाई १–० ले पराजित गरेको थियो ।
इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्डले दुई र फिल फोडेनले एक गोल गरे । खेलको ५० औं मिनेटमा रासफोर्डले फ्रिकिकमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा कप्तान ह्यारी केनको पासमा फोडेनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए ।
खेलको ६८ औं मिनेटमा रसफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका थिए । जितसँगै इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर समूह 'बी' को विजेता बनेको छ । वेल्स भने १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।
यता, क्रिस्टियन पुलिसिचको निर्णायक गोलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका समूह ‘बी’बाट उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।खेलको ३८ औं मिनेटमा डिफेण्डर सेर्गिनो डेस्टको हेडर उपयोग गरी पुलिसिचले गोललाइनबाट गोल गरेका थिए ।
यो खेलमा दुवै टिमका लागि नकआउट चरण प्रवेशको अवसर थियो । इरानका लागि बराबरी खेल नै काफी थियो । दोस्रो हाफमा खेलको इन्जुरी समयमा इरानले सबैभन्दा राम्रो अवसर पाएको थियो । मुर्तजा पौरालिगान्जीको फ्रिकक प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो ।
जितपछि अमेरिकाले समूह 'बी' को तीन खेलबाट ५ अंक जोड्दै उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।