काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा इक्वेडरलाई पराजित गर्दै सेनेगल अन्तिम १६ मा प्रवेश गरेको छ । अल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा मंगलबार राति भएको खेलमा इक्वेडरलाई २–१ गोल अन्तरले हराउँदै सेनेगल नकआउट चरणमा पुगेको हो ।
सेनेगललाई जित दिलाउन इस्मैला सार र कप्तान कालिडोउ कोउलीबेलीले गोल गरे । इक्वेडरका मोइसेस काइसेडोले एक गोल फर्काएपनि टिमको हार टार्न सकेनन् । सेनेगल कतार विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
खेलको ४४ औँ मिनेटमा सारले पेनाल्टीमार्फत गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर इक्वेडरका पिएरो हिन्कापीले सारलाई लडाएपछि सेनेगलले पेनाल्टी पाएको थियो ।
दोस्रो हाफमा इक्वेडरले बराबरी गोल फर्काउँदै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको थियो । खेलको ६८ औं मिनेटमा काइसेडोले बराबरी गोल गर्दा इक्वेडर अगाडि बढ्ने समिकरण बनेको थियो ।
तर, त्यसको दुई मिनेटपछि नै कोउलीबेलीले गोल गर्दै सेनेगललाई २–१ को को जित दिलाए । नकआउट चरणमा पुग्न इक्वेडरलाई सेनेगल विरुद्ध बराबरी नतिजा नै पर्याप्त थियो । तर, सेनेगलका लागि भने जित्नैपर्ने बवश्यकता थियो ।
जितसँगै सेनेगलले तीन खेलबाट ६ अंक सहित समूह 'ए'मा उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । एक जित एक बराबरी र एक हारबाट ४ अंक जोडेको इक्वेडर समूहमा तेस्रो हुँदै बाहिरियो ।
यस समूहबाट नेदरल्यान्ड्स अपराजित रहँदै ७ अंक सहित समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । अंकविहीन बनेको कतार पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।