काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् । शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् ।
अहमद बिन अलि स्टेडियममा दिउँसो ३:४५ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेका वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरान पहिलो जितको खोजीमा हुनेछन् । वेल्स पहिलो खेलमा अमेरिकासँग १-१ गोलको बराबरीमा रोकिएको थियो भने इरान पहिलो खेलमा इंग्ल्यान्डसँग ६-२ ले पराजित भएको थियो ।
यस्तै, शुक्रबार अल थुमामा स्टेडियममा साँझ ६:४५ सुरु हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका घरेलु टोली कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा पराजित भएका दुबै टोली पहिलो जितको योजनामा रहेका छन् ।
पहिलो खेलमा कतारलाई इक्वेडरले २-० ले हराएको थियो भने सेनेगललाई पहिलो खेलमा नेदरल्यान्ड्सले २-० ले नै हराएको थियो । त्यसैले दुवै टोली पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।
विश्वकप अन्तर्गत नै शुक्रबार हुने तेस्रो खेलमा समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा राति ९:४५ सुरु हुनेछ । नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २-० ले हराएको थियो भने इक्वेडरले आयोजक कतारलाई २-० ले नै हराएको थियो । दुवै टिम लगातार दोस्रो जितको खोजीमा हुनेछन् ।
त्यस्तै शुक्रबार हुने चौथो खेलमा समूह ‘बी’ मा रहेका इंग्ल्यान्ड र अमेरिकाबीच अल बायत स्टेडियममा राति १२ः४५ बजे प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ भने अमेरिका पहिलो जित निकाल्न चाहन्छ ।
इंग्ल्याण्डले पहिलो खेलमा इरान विरुद्ध ६-२ को जित निकालेको थियो भने अमेरिकाले पेनाल्टीमा गोल व्यहोरेपछि वेल्ससँग अंक बाँडेको थियो । कतार विश्वकपमा सहभागी ३२ वटै राष्ट्रले एक/एक खेल खेलिसकेका छन् ।