काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा आज बिहीबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह 'जि' बाट २ खेल र समूह 'एच' बाट २ खेलहरु हुनेछन् । आज हुने खेलहरूमा पोर्चुगल, ब्राजिल, उरुग्वे जस्ता बलियो टोलीहरू प्रतिस्पर्धा गर्दैछन् ।
आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । स्विजरल्याण्ड र क्यामरुनबीचको खेल अल जानौब रंगशालामा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
स्विट्जरल्यान्डले विश्वकपको उपाधि जित्न सकेको छैन । स्विट्जरल्यान्डले हालसम्म तीन पटक क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ । क्यामरुन विश्वकपमा सबैभन्दा धेरै पटक छनोट हुने अफ्रिकी राष्ट्र हो । कतार विश्वकप उसको आठौं सहभागिता हुनेछ । यस खेलमा स्विट्जरल्यान्डका ग्रानिट झाका र क्यामरुनका एरिक म्याक्सिम मोटिङ प्लेयर्स टु वाचमा रहने छन् ।
दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल एजुकेसन सिटी रंगशालामा साँझ ६ः४५ बजे सुरु हुनेछ । उरुग्वेसँग लुइस सुआरेज, डिएगो जोडीन, एडिन्सन काभानी, डार्विन नुनेज जस्ता खेलाडीसहित मैदान उत्रनेछ । यता, दक्षिण कोरियासँग सन ह्युङ मिन लगायत युरोपियन क्लबमा खेल्दै गरेका खेलाडीको साथ रहेको छ ।
त्यसैगरि आजको तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीचको खेल ९७४ रंगशालामा राति ९ः४५ बजे सुरु हुनेछ । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड छोडेका रोनाल्डोलाई आजको खेलमा सहज जित निकाल्दै सुखद सुरुवात गर्ने मौका रहेको पाइन्छ ।
बिहीबार हुने चौथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह ’जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल लुसैल रंगशालामा राति १२ः४५ बजे सुरु हुनेछ । पाँच पटकको विश्वविजेता ब्राजिल पहिलो संस्करणदेखि हालसम्मका सबै संस्करण खेल्ने एकमात्र टिम हो ।
सर्वियाले विश्वकपको पछिल्लो तीन संस्करणमा समूह चरण पार गर्न सकेको छैन । यस खेलमा ब्राजिलका फरवार्ड नेइमार र सर्वियाका एलेक्जान्ड्रो मिट्रोभिच प्लेयर्स टु वाचमा रहने छन् ।