काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको विश्वकप फुटबलमा स्पेनले सानदार जित निकाल्दै विजयी सुरुआत गरेको छ । अल थुमामा स्टेडियममा बुधवार राति भएको खेलमा कोस्टारिकामाथि ७-० गोलको सानदार जित निकाल्दै स्पेनले सुखद सुरुआत गरेको छ ।
स्पेनले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल गरेको थियो । स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाको नाममा एक/एक गोल गरे ।
एकतर्फी खेलमा स्पेनले ११ औं मिनेटमा गाभीले दिएको पासमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो । ओल्मोको गोल विश्वकपमा स्पेनको १०० औं गोल हो । खेलको २१ औं मिनेटमा जोर्डी अल्बाको क्रसमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २-० को बन्यो ।
यस्तै, ३१ औँ मिनेटमा टोरेसले पेनाल्टीबाट गोल गर्दै स्पेनको अग्रतालाई ३-० मा पुर्याए । पहिलो हाफमा कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी एरियाभित्र फउल गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो ।
दोस्रो हाफको ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४-० को अग्रता दिलाए । यस्तै, अल्भारो मोराटाको पासमा गाभीले ७४ औँ मिनेटमा गोल गर्दै स्पेनको अग्रतालाई ५-० मा पुर्याए । खेलको ९० औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६-० को अग्रता दिलाए ।
इन्ज्युरी समयमा ओल्मोको पासलाई सदुपयोग गर्दै मोराटाले गोल गर्दै स्पेनलाई ७-० गोलको फराकिलो जित दिलाए । यस जितसँगै समूह ‘ई’मा स्पेन ३ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । हारबाट विश्वकपको सुरुआत गरेको कोस्टारिका पुछारमा रहेको छ । तीन नै अंक जोडेको जापान दोस्रो र अंकविहीन जर्मनी तेस्रो स्थानम छ ।