काठमाडौं । कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत आज (मंगलबार) चार खेलहरू हुँदै छन् । विश्वकपमा आज समूह ‘सी’ का दुई र समूह ‘डी’ का दुई खेलहरू हुँदै छन् ।
पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग लुसाइल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । यस खेलमा अर्जेन्टिनाका लियोनल मेसी र साउदीका सलेह अल शेहरी प्लेयर्स टु वाचका रुपमा रहेका छन् । हालसम्म १८ पटक विश्वकप खेलिसकेको अर्जेन्टिनाको साउदीसँग पहिलो पटक भिड्दैछ । साउदी अरबले छैटौं पटक विश्वकप खेल्दैछ ।
उपाधि दाबेदार अर्जेन्टिना स्टार खेलाडी लियोनल मेसीको कप्तानीमा सुखद् सुरुवात गर्ने तयारी छ । मेसीले यो प्रतियोगिता नै आफ्नो अन्तिम विश्वकप भएको बताएका छन् । अर्जेन्टिनालाई मेसी सहित, लौटारो मार्टिनेज, डि मारिया, पाउलो डिबला जस्ता खेलाडीको साथ छ ।
डेनमार्कविरुद्ध ट्युनिसिया
कतार विश्वकप फुटबल अन्तर्गत मंगलबार हुने दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । दोहाको एजुकेसन सिटी स्टेडियममा समूह ‘डी’ मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
यस खेलमा डेनमार्कका क्रिस्टियन एरिक्सन र ट्युनिसियाका इशाम जेबाली प्लेयर्स टु वाचमा रहेका छन् । डेनमार्क विश्वकप इतिहासमा दोस्रो पटक लगातार दुई संस्करणका लागि छनोट भयको हो । ट्युनिसियाले हालसम्म सहभागी भएको सबै संस्करणमा समूह चरण पार गरेको छैन ।
मेक्सिकोविरुद्ध पोल्याण्ड
कतार विश्वकप फुटबल अन्तर्गत मंगलबार हुने तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र मेक्सिकोबीचको खेल ९७४ रंगशालामा राति ९:४५ बजे सुरु हुनेछ । यस खेलमा प्लेयर्स टु वाचमा मेक्सिकोका फरवार्ड हिर्भिङ लोजानो र पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्की रहने छन् ।
मेक्सिको १७ औं पटक विश्वकपमा सहभागिता जनाउँदैछ । पोल्यान्ड भने नवौं पटक विश्वकप खेल्दैछ । पोल्याण्डले सन् १९७४ र १९८२ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो ।
साबिक विजेता फ्रान्सविरुद्ध अस्ट्रेलिया
कतार विश्वकप फुटबल अन्तर्गत मंगलबार हुने चौंथो खेलमा साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामना गर्नेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल अल जानुब रंगशालामा राति १२:४५ बजे सुरु हुनेछ ।
फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पे खेलको मुख्य नायक हुनेछन् । २३ वर्षको उमेरमै एम्बाप्पे विश्वकै उत्कृष्ट स्ट्राइकर चुनिइसकेका छन् । सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा एम्बाप्पे उत्कृष्ट युवा खेलाडी घोषित भए ।
एम्बाप्पेलाई अग्रपंक्तिमा एन्टोनियो ग्रिजम्यान र ओलिभर जिरुडले सहयोग गर्नेछन् । यसैगरी, करिम बेन्जिमा, पाउल पोग्बा र एनगोलो कान्टे चोटकै कारण बाहिर छन् । फ्रान्स र अस्ट्रेलियाबीच पछिल्लो भेट सन् २०१८ विश्वकपमा भएको थियो । ग्रिजम्यान र पोग्बाले गोल गर्दा फ्रान्सले खेल २–१ ले जितेको थियो ।
अस्ट्रेलियाको अग्रपंक्तिमा जामिक म्याकलेरेन, म्याथु लेकीजस्ता खेलाडी छन् । मिडफिल्डमा आरोन मोय, ज्याक्सन इर्भिनजस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ । ह्यारी सोउटर र मार्टिन बोयलीले चोट बोके पनि अन्य खेलाडीले प्रभावशाली प्रदर्शन गर्नेमा प्रशिक्षक ग्राहम अर्नोल्ड विश्वस्त छन् ।