काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गतको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार बेलुकी ६ः४५ बजे सुरु हुनेछ ।
हालसम्म इङ्ल्यान्ड एसियाली मुलुकविरुद्ध एक पटक प्रतिस्पर्धा गरेको छ । आजको खेलसँगै इङ्ल्यान्डले दोस्रो एसियाली मुलुकसँग भेट्नेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा पाँचौ स्थानमा छ । एसियाली मुलुक इरान २० औ स्थानमा छ । यस खेलमा इंग्ल्यान्डका जुड बेलिङघम र इरानका मेहदी तारेमी प्लेयर्स टु वाचमा रहने छन् ।
सेनेगलविरुद्ध नेदरल्यान्ड्स
कतार विश्वकप फुटबल अन्तर्गत आज सोमबार हुने दोस्रो खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार ९:४५ बजे दोहास्थित अल थुमामा मैदानमा हुनेछ । सेनेगल फिफा वरियतामा १८ औं स्थानमा रहँदा नेदरल्यान्ड्स ८ औं स्थानमा छ । सेनेगल आफ्ना प्रभावशाली अट्याकर साडिओ मानेबिना मैदान उत्रने पक्का छ । सेनेगललाई कप्तान मानेको अभाव खड्कने छ ।
यता, नेदरल्यान्ड्स भने आफ्नो अपराजित यात्रा १५ खेलबाट बढाउन चाहन्छ । लुइस भान गालको नेतृत्वमा रहेको नेदरल्यान्ड्स मानेको अभावमा फाइदा उठाउँने योजनामा छ ।स्ट्राइकर मेम्पिस डिपाएले नेदरल्यानड्सको यात्रामा फिनिसिङ पक्षमा उत्कृष्ट साथ दिनेछन् । यस खेलमा सेनेगलका कालिडोउ कुलिबाली र नेदरल्यान्ड्सका स्टिभन वर्गवाइन प्लेयर्स टु वाचको रुपमा रहने छन् ।
वेल्सविरुद्ध अमेरिका
कतार विश्वकप फुटबल अन्तर्गत तेस्रो खेलमा अमेरिका र युरोपेली राष्ट्र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे अहमेद विन अलि मैदानमा हुने तालिका छ । ६४ वर्षपछि विश्वकप खेल्न लागेको वेल्स सुखद सुरुआतको योजनामा हुनेछ । विश्वकपमा अमेरिकाले नकआउट चरणसम्म यात्रा तय गरेको छ ।
वेल्स फिफा वरियतामा १९ औं स्थानमा रहँदा अमेरिका १६ औं स्थानमा छ । स्पेनिस क्लब रियाल मड्रिडबाट विश्व फुटबलमा स्थापित भएका वेल्सका कप्तान ३३ वर्षीय गारेथ बेल महत्वपूर्ण खेलाडी बनेका छन् । बोरुसिया डर्टमन्डबाट युरोपियन फुटबलमा आफ्नो पहिचान बनाएका क्रिस्टियन पुलिसिच वेल्सविरुद्ध अमेरिकाका महत्वपूर्ण खेलाडी हुन् ।