काठमाडौं । विश्व फुटबलको कुम्भ मेला फिफा विश्वकप फुटबल २०२२ आज (आइतबार) बाट कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । विश्वकपका सबै खेलको प्रत्यक्ष प्रशारण नेपालमा समेत हुनेछ । पहिलो दिन एकमात्रै खेल हुनेछ ।
उद्घाटन खेलमा आयोजक कतार र लेटिन अमेरिकी प्रतिद्धन्दी इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ ।
यस पटकको कतार विश्वकपलाई ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने अन्तिम प्रतियोगिताको रुपमा हेरिएको छ । यसपछि सन् २०२६ मा हुने विश्वकप फुटबलमा ४८ देशले प्रतिस्पर्धा गर्दैछन् । कतार विश्वकपलाई हालसम्मकै सबैभन्दा महँगो विश्वकपमा २ खर्ब २० अर्ब डलर लगानी भएको बताइन्छ ।
विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा सहभागि टोलीहरुलाई ८ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स रहेका छन् ।
यसैगरी समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड, समूह ‘डी’ मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया, समूह ‘इ’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान, समूह ‘एफ’ मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया, समूह ‘जी’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन तथा समूह ‘एच’ मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् । कतार विश्वकपको फाइनल खेल डिसेम्बर १८ तारिखमा हुने छ ।