काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध तेस्रो खेलमा सानदार जित निकाल्दै तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली नेपालले जितेको छ ।कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न निर्णायक खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो ।
युएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर १ सय ८० रन जोड्दै पूरा गर्यो । नेपालले आसिफ सेख र ज्ञानेन्द्र मल्लकाे अर्धशतकीय पारीले सहज जित हासिल गरेकाे हाे । आसिफले अविजित रहदै सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ खेले । उनले १ सय १९ बलमा १२ चौका प्रहार गरे । यस्तै मल्लले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको योगदान दिए ।
कप्तान रोहित पौडेल १० रनमा आउट भए । ओपनर अर्जुन साउँद ९ रनमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी सुन्य रनमा रन आउट भए । हरिशंकर साह सुन्य रनमा अविजित रहेका थिए । युएईका हजरत बिलाल र आयन अफजल खानले १/१ विकेट लिए । नेपालका आसिफ शेख प्लेयर अफ द म्याच चुनिएका छन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । युएईका लागि आयन अफजल खानले ६३ बलमा अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले सात चौका र एक छक्का प्रहार गर्दै युएईको पारी सम्हालेका थिए । हजरत बिलालले अविजित २० रन बनाए ।
नेपालले युएईले ९३ रन जोड्दा ९ विकेट लिएको थियो । तर, युएईका आयान अफजल खान र हजरत बिलालले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेपछि युइए सम्मानजनक स्कोरमा पुगेको थियो । युएईका आयन अफजल खान प्लेयर अफ द सिरिज बनेका छन् ।
यस्तै अलिशन शराफुले ३३ रन बनाए । रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिए । ललित राजवंशी र सोमपाल कामीले एक/एक विकेट लिएका थिए ।
नेपालले घरेलु मैदानमा पहिलो पटक द्विपक्षीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको हो । नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा तीन विकेटले विजयी भएको थियो । रोहित पौडेलले आफ्नो कप्तानी डेब्युमै नेपाललाई एकदिवसीय अन्तराष्ट्रिय सिरिज जिताएका छन् ।