काठमाडौं । यूएईसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो ।
युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेटको क्षतीमा पुरा गर्यो । जितसँगै तीन खेलको सिरिजमा नेपालले १-१ को बराबरी गरेको छ । नेपालको जितमा गुलशन झाले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रनको योगदान दिए ।
आरिफ शेख ५८ बलमा ३ चौकासहित ३३ रनमा अविजित रहे । नेपाललाई सातौं विकेटका लागी गुलशन झा र आरिफ शेखले ६२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
कुशल भुर्तेलले ३५, ज्ञानेन्द्र मल्लले २६, सोमपाल कामीले १६, दीपेन्द्रसिंह ऐरीले १३ रनको योगदान गरे । युएईका स्पिनर रोहन मुस्तफाले ३ विकेट लिए । हजरत बिलालले २ विकेट हात पारे । बसिल हामिदले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो । युएईका लागि मुहम्मद वासिमले ५० रनको अर्धशतकीय इनिङ खेले । अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रनको योगदान गरे । बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा बिष्णु शुकुमारनले १५ रन बनाए ।
नेपालका ललित राजवंशी र सोमपाल कामीले ३/३ विकेट लिँदै यूएईको मध्यक्रमलाई भत्काएका थिए । ललितले १० ओभरमा ४१ र सोमपालले ७.२ ओभरमा ३५ रन खर्चे । करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए ।
सोमबार भएको पहिलो पहिलो एकदिवसीय खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । युएई र नेपालबीचको तेस्रो तथा निर्णायक अन्तिम खेल मंसिर २ गते शुक्रबार हुनेछ ।