काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) सँगको एकदिवसीय क्रिकेट श्रृंखलाका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो ।
क्रिकेट संघले शुक्रबार रोहितलाई कप्तानको जिम्मेवारी दिएको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । २० वर्षीय रोहितले केन्या टुरमा ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन् । रोहितले नेपालको यू-१९ उमेर समूहको कप्तानी गरेका थिए ।
टोलीमा स्पिनर ललितनारायण राजवंशी, कुशल भुर्तेल, सागर ढकाल, भीम सार्की, कमलसिंह ऐरी र अर्जुन साउदले पूनरागमन गरेका छन् । हरिशंकर साह पहिलो पटक राष्ट्रिय टिममा अटाएका छन् । मधेश प्रदेशका हरिशंकरले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । युवा ब्याटर देव खनाललाई भने नेपालले टोली बाहिर राखेको छ ।
नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईसँग कात्तिक २८ गतेदेखि तीन खेलको एकदिवसीय श्रृंखला खेल्ने तालिका छ । नेपालले यूएईसँग कात्तिक २८ गते पहिलो, ३० गते दोस्रो र मंसिर २ गते अन्तिम तथा तेस्रो खेल खेल्नेछ । सबै खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछन् । नेपाली टिम हाल भारतीय प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षण छ ।
युएईसँगको सिरिजका लागि नेपालको टिम :
रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भिम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदिल आलम, अर्जुन साउद, गुल्सन झा