काठमाडाैं, १५ असार - प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा फाइनल समिकरण पूरा भएको छ। फाइनलमा विभागीय टोलीका खेलाडीको वर्चश्व देखिएको छ।
प्रतियोगिताको ४९ केजी तौल समूहमा आर्मीका सुशिल थापा र सशस्त्र प्रहरीका आश तामाङ फाइनलमा पुगेका छन्। सेमिफाइनलमा आर्मीका सुशिलले सशस्त्रका प्रदिप महर्जनलाई हराए भने आशले कास्कीका विष्णु गौतमलाई हराएका हुन्।
पुरुष ५२ केजी तौल समूहको स्वर्णका लागि एपीएफका पुरन राई र कास्कीका दिनेश बानियाँ भिड्ने भएका छन्। सेमिफाइनलमा पुरनले झापाका सुरेन्द्र राईलाई हरा एभने दिनेशले झापाका जितेन्द्र राईलाई पराजत गरे।
६० केजी तौल समूहको सेमिफाइनलमा आर्मीका दानबहादुर दर्लामीले नक्सालका किशोर शर्मालाई र झापाका प्रकाश लिम्बुले कञ्चनपुरका रामबहादुर थापालाई हराए। ६४ केजी तौल समूहको पहिलो सेमिफाइनलमा आर्मीका नरेश थापाले एपीएफका सोनम कार्कीलाई हराउँदै फाइनलमा प्रवेश गरे।
अर्को सेमिफाइनलमा झापाका अविनय राईले आर्मीका बुद्धिशागर गुरुङलाई पराजित गर्दै नरेशसँगको भिडन्त पक्का पारे।
६९ केजीमा आर्मीका रवि सुनुवारले आफ्नै क्लबका सन्दिप बेन्जुलाई हराए। अर्को सेमिफाइनलमा कास्कीका हेमराज राउतले काठमाडौंका सरियान्स प्रजापतिलाई पराजित गर्दै फाइनलमा स्थान बनाए।
पुरुषकै ७५ केजीमा बानुजका कौशलजंग थापाले आर्मीका लाल आलेमगरलाई र आर्मीका किरण राज शाहीले दमकका प्रेम गुरुङलाई हराउँदै फाइनल भिडन्त पक्का पारे।
८१ केजीमा कास्कीका दिपक सुनुवारले आर्मीका कृष्ण सिंह धामीलाई हराए। अर्को सेमिफाइनलमा आर्मीका भुपेन्द्र सिंहले टिकाथलीका रवीन्द्र घिमिरेलाई हराए।
अखिल नेपाल खेलकुद संघको आयोजनामा जारी प्रतियोगिताको महिला ४८ केजी तौल समूहको स्वर्णका लागि एपीएफका दुई खेलाडी आमने सामने हुनेछन्। नन्जा बुढामगरले आर्मीकी सुमित्रा विकलाई हराइन् भने सावित्री तामाङले अल्फाका विमला थापामगरलाई पराजित गरिन्।
५२ केजी तौल समूहको पहिलो सेमिफाइनलमा मकवानपुरकी सन्जुमाया थिङले आर्मीकी आरती तामाङलाई हराइन्। यस्तै अर्को सेमिफाइनलमा एपीएफकी माला राईले आर्मीकी गिताकुमारी थापालाई हराउँदै फाइनलमा पुगिन्।
५४ केजी तौल समूहमा आर्मीकी मिनु गुरुङ र काठमाडौंकी मिना घले फाइनलमा पुगेका छन्। मिनुले एपीएफकी निता गोसाईलाई हराइन् भने मिनाले दमककी चन्द्रकला राईलाई पराजित गरिन्।
५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई र नक्सालकी कुशुम तामाङले आर्मीकी मुना बम्जनलाई हराइन्।
६० केजीमा आर्मीकी सविना श्रेष्ठ दमककी सोममाया लिम्बुलाई हराइन् भने ६४ केजीमा आर्मीकी विनिता मगरले नक्सालकी अम्बिका विकलाई र एपीएफकी विनिता थापामगरले भक्तपुरकी सरु ब्यन्जुलाई हराउँदै फाइनलमा स्थान बनाइन्। प्रतियोगिताका सबै फाइनल खेलहरु आइतबार हुनेछन्।