काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई हराएको छ । अस्ट्रेलियाको ब्रिसबेन क्रिकेट मैदानमा मंगलबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हराएको हो ।
पराजित भएपछि समूह–१ को अफगास्तिान अन्तिम खेल खेल्नु अगावै प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तालाई हराएको श्रीलंकाले भने सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ । आफ्नो अन्तिम खेलमा श्रीलंकाले इंग्ल्यान्डको सामना गर्ने छ । अफगानिस्तानको अन्तिम खेल भने अस्ट्रेलियाविरुद्ध रहेको छ ।
अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको थियो । १४५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.३ ओभरमा चार विकेट गुमाएर १४८ रन बनायो ।
श्रीलंकाको जितमा धनञ्जय डी सिल्भाले अविजित ६६ रन बनाए । डी सिल्भाले ४३ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । ओपनर कुशल मेन्डिसले २५, चरिथ असलांकाले १९, भानुका राजापाक्षेले १८ र पथुम निसांकाले १० रन जोडे । अफगानिस्तानका मुजिब उर रहमान र राशिद खानले समान दुई विकेट हात पारे ।
यअसघि अफगानिस्तानका ओपनर रहमनुल्लाह गुर्बजले २८ र उस्मान घानीले २७ रन बनाएका थिए । इब्राहिम जद्रानले २२, नजिबुल्लाह जद्रानले १८, कप्तान मोहम्मद नाबीले १३ र गुल्बदिन नैबले १२ जोडे ।
बलिङतर्फ श्रीलंकाका वनिन्दु हसरंगा डी सिल्भाले तीन विकेट लिएका थिए । लहिरु कुमाराले दुई विकेट लिँदा धनञ्जय डी सिल्भा र कसुन रजिथाले समान एक विकेट हात पारे । आजै (मंगलबार) हुने समूह–१ को अर्को खेलमा न्युजिल्यान्ड र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ ।