काठमाडौं । पोखरामा जारी ह्याण्डबल प्रतियोगितामा नेपाली सेनाको पुरुष तथा महिला दुवै टिमलाई सफल हात लागेको छ । नवौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ह्याण्डबल प्रतियोगिताको पहिलो दिन सेनाको पुरुष टिमले बामती प्रदेशलाई ४३–८ को ठुलो अन्तरले पराजित गरेको हो ।
सेनाको जितमा आकास अधिकारीको ८ गोल रह्यो । यस्तै सेनाले महिला तर्फ पनि जित निकाल्न सफल भयो । शान्तिकला राईको १४ गोलको सहयोगले सेनाले मधेस प्रदेशलाई ४६–२ ले पराजित गरेको हो ।
पोखरा बहुउद्धेश्यि कभर्डहलमा भएको प्रतियोगिताको अन्य खेलमा पुरुष तर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलले पनि जित निकाले । गण्डकीले चन्द्र के.सी.को १० गोल मद्धतले मधेस प्रदेशलाई ६६–१३ र सशस्त्र प्रहरीले सन्दिप कार्कीको ९ गोल मद्धतले लुम्बिनी प्रदेशलाई ३६–१३ गोलले पराजित गरेको हो ।
लुम्बिनीका सरण थापाले ९ गोल गरेता पनि आफ्नो टिमलाई जितको स्वाद दिलाउन सकेनन् । महिला तर्फ प्रदेश नं. १ ले कर्णाली प्रदेशलाई २६–२ गोलले पराजित गरे । प्रदेश १ की उसल राईले ९ गोल गरिन् ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु प्रतियोगिताको नेपाल सरकार अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन् । मन्त्री शर्माले रेफ्रीलाई बल हस्तान्तरण गर्दै ह्याण्डबल खेलको उद्घाटन गरेका हुन् ।मन्त्री शर्माले उद्घाटनमा बोल्दै स्वस्थ प्रतिस्पर्धा गर्न खेलाडीसमक्ष आग्रह गरे । खेलकुद स्वस्थ र स्वच्छ हुन्छ, खेलाडीले पनि स्वस्थ प्रतिस्पर्धामार्फत खेललाई उत्सवमा पु-याउन आग्रह गरे । राष्ट्रिय खेलकुदमार्फत प्रतिभावान खेलाडीहरुको उत्पादन हुने उनको भनाई थियो ।
प्रतियोगितामा ७ प्रदेश र २ विभागीय गरी ९ टिमको सहभागिता छ । विभागीय नेपाल पुलिस र एनआरएनएले ह्याण्डबलमा सहभागिता जनाएको छैन । महिला÷पुरुष गरी ९ टिमबाट खेलाडी, टिम प्रशिक्षक, टिम व्यवस्थापक र अफिसियल गरी ह्याण्डबलमा करिब ३ सयको सक्रिय सहभागिता छ । असोजको २९ गतेसम्म ह्याण्डबलका खेलहरु हुनेछन् ।