काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ । आइतवार फु थोस्थित भियत त्रि स्टेडियममा सम्पन्न समूह ‘एफ’ को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेइसँग ४–२ गोलअन्तरले पराजित भयो ।
चाइनिज ताइपेको जितमा ताई यान याओले दुई गोल गरे । यस्तै, लिन हाइ चिङ र लु इन थिङ एक एक गोल गरे । नेपालको लागि कप्तान प्रशान्त लक्षम र धनसिंह विकले समान एक एक गोल गरे ।
चाइनिज ताइपेईले तेस्रो मिनेटमै स्ट्राइकर लिन हाइ चिङले गरेको गोलबाट अग्रता लिएको थियो । नवौँ मिनेटमा नेपालका कप्तान प्रशान्त लक्ष्यमले बराबरी गोल फर्काए । २८ औँ मिनेटमा ताई यान याओको गोलमा चाइनिज ताइपेईले पुनः अग्रता लिएको थियो । ६१ औँ मिनेटमा नेपालका धनसिंह बिकले बराबरी गोल फर्काए ।
७९ औँ मिनेटमा रक्षक दीपक थापामगर दोहोरो पहेलो कार्डपछि रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो । ८० औँ मिनेटमा लू इन थिङको फ्रिकिक गोलमा चाइनिज ताइपेईले अग्रता लियो । ८९ औँ मिनेटमा ताई यान याओले व्यक्तिगत दोस्रो गोल गर्दै ताइपे लाई ४-२ को जित दिलाए ।
लगातार दुई खेलमा पराजित भएसँगै छनोट चरण पार पर्ने नेपालको लक्ष्यमा पूर्णविराम लागिसकेको थियो । नेपालसामु चाइनिज ताइपेइविरुद्धको खेलमा जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसर थियो । जसमा नेपाल चुक्यो ।
पहिलो खेलमा थाइल्यान्डलाई ३–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा घरेलु टोली भियतनामलाई ५–० को नतिजा सुम्पिएको थियो । समूह ‘एफ’ मा भियतनाम दुई खेलमा दुई जितपछि ६ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको थाइल्यान्डको समान ६ अंक छ ।
तेस्रो स्थानको चाइनिज ताइपेइको तीन अंक रह्यो भने नेपाल तीन खेलमा अंकविहीन रह्यो । आजै हुने थाइल्यान्ड र भियतनाबीचको खेलले समूह एफको विजेताको टुङ्गो लगाउने छ ।