काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा आज बुधबार नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् । खेल कोलम्बोको रेस कोर्स मैदानमा राति सवा ७ बजे सुरू हुनेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले र दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएको थियो । प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।
आज जितको निरन्तरतालाई कायम राख्दै उपाधि उचाल्ने नेपालको लक्ष्य रहेको छ । यता, भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ । यस प्रतियोगितामा नेपाल तीन पटक फाइनलमा भारतसँग नै पराजित भएको थियो । नेपालले सन् २०१३, २०१७ र २०१९ मा फाइनल खेलेको थियो ।
यसअघि मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाइनल खेल कठिन हुने बताउँदै फाइनल खेल अघिल्ला खेलजस्तै मेहनत गरेर खेल्ने जानकारी दिनुभएको छ ।
कप्तान प्रशान्त लक्ष्यमले पनि फाइनल खेल कठिन हुने बताए । प्रशान्तले भने, ‘भारत हामीमाथि दबाब कायम राख्न चाहन्छ । हामी उनीहरूसँग फाइनलमा हारको शृंखलालाई पूर्णविराम लगाउन चाहन्छौँ ।’
भारतका प्रशिक्षक फर्नान्डेसले बंगलादेशविरुद्ध सेमिफाइनलमा हासिल गरेको जितले टिमको मनोवल बढेको बताए । ‘हामी उपाधि जित्नेमा विश्वस्त छौँ, भारतका प्रशिक्षक फर्नान्डेसले भने, नेपाल कठिन प्रतिद्वन्द्वी हो । हामी समूह चरणमा हारेका थियौँ । तर, फाइनल खेलमा हामी पुनरागमन गर्दै उपाधि रक्षाको लक्ष्य सफल पार्न चाहन्छौँ ।'