काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा सानदार जित निकालेको छ । नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको हो ।
जितका लागि केन्याले दिएको २ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । यस जितसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
नेपालको जितमा आसिफ शेखले १ सय २० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले । आसिफले ओपनर अर्जुन साउदसँग पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरेका थिए ।
यस्तै अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले । अर्जुृन शेमको बलमा मिडअफमा क्याच आउट भएका थिए । ज्ञानेन्द्र मल्ल २४ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन जोड्दा रोहित पौडेलले अविजित ३ रन बनाए । केन्याका विशिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २ सय १८ रन बनाएको थियो । केन्याका रकिप पटेलले ७४ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाए । कोलिन्स ओबुयाले १ सय १८ बलमा ३ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । पाँचौं विकेटका लागि लागि रकिप र ओबुयाले १ सय ३० रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए ।
ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए । तर त्यसपछिका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए । आदिल आलम र पवन सर्राफले समान एक एक विकेट लिए ।
तीन एकदिवसिय अभ्यास खेलमा नेपालको कप्तानी युवा ब्याटर रोहित पौडेलले गरेका छन् । अब नेपालले केन्यासँग शनिबार दोस्रो खेल खेल्नेछ । त्यस्तै सोमबार तेस्रो तथा अन्तिम खेल खेल्नेछ । नेपालले यसअघि सकिएको पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खला ३-२ ले जितेको थियो ।