काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रीलंकामा आयोजना हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई बिहीबार बिदाइ गरेको छ ।
नेपाली युवा टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष विराटजंग शाही, दीपक खतिवडा, महासचिव किरण राई लगायतले सफलताको शुभकामनासहित बिदाई गरे ।
साफ च्याम्पियनसिपका लागि नेपाली टोली शुक्रबार १ बजे श्रीलंका प्रस्थान गर्नेछ । नेपाली यू-१७ टोली उर्जन श्रेष्ठको प्रशिक्षणमा छ । प्रतियोगितामा नेपाल समूह 'बी' मा रहेको छ ।
नेपालको समूहमा भारत र भुटान छन् । साफ यू-१७ को पहिलो खेल नेपालले सेप्टेम्बर ७ मा भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ ।
समूह 'ए' मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।
नेपाली टोली ः
गोलकिपर : क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी
डिफेन्डर : अश्विन घोरासैनी, सिमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापामगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा
मिडफिल्डर : प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा
फरवार्ड : निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम