काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तराष्ट्रिय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो ।
नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो । केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । इरफान करिमले २८ रन जोड्दा कोलिन्स ओबुयाले २३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र वसिर अहमदले दुई/दुई विकेट लिए । त्यस्तै करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । उनले अर्जुन साउँदसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीसँग दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे ।
अर्जुन साउद २९ तथा दीपेन्द्रसिंह २२ रन बनाएर पवेलियन फर्किए । ज्ञानेन्द्रले रोहितकुमार पौडेलसँग पनि तेस्रो विकेटका लागि २० रनको साझेदारी गरे । पवन सर्राफ १ रनमा आउँट हुँदा आदील अन्सारी ४ रन बनाएर आउट भए ।
विवेक यादव दुई रन बनाएर पवेलियन फर्किदा उपकप्तान रोहितले ४७ रन बनाए । करण केसी दुई रनमा अविजित रहे ।केन्याका स्पिनर विरज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बो दुई दुई विकेट लिए । लुकास ओलुओचले १ विकेट लिए ।
त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । यस्तै तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो । चौथो खेलमा केन्याले नेपाललाई ७ रनले हराएको थियो । अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल शुक्रबार हुनेछ ।