काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको तेस्रो टि २० अन्तर्राष्ट्रियमा कीर्तिमानी जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो ।
जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएर पूरा गर्यो । टी २० मा नेपालले अहिलेसम्मकै सर्वाधिक स्कोर पूरा गरेको थियो । नेपालको जितमा ज्ञानेन्द्र मल्ल ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४६ रनमा आउट भए ।
डेब्यू खेल खेलेका युवा विकेटकिपर अर्जुन साउद ३१ बलमा २ चौका र ३ छक्कासहित ३५ रन जोड्दै राम्रो सुरुवात दिलाए । रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए ।
बलिङतर्फ केन्याका भिराज पटेल र युगिनी ओचिङले दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले ।
पटेलले अविजित रहदै ७३ रन बनाए । उनले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे । कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदिप सिंहले ८ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले एक एक विकेट लिए । यस जितसँगै पाँच खेलको टि २० सिरिजमा नेपालले २-१ को अग्रता बनाएको छ । यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
अब नेपाल र केन्याबीच चौथो खेल सोमबार र पाँचौं तथा अन्तिम खेल मंगलबार हुनेछ । टि २० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।