काठमाडौं । नेपाल र केन्याबीचको टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखला आज बिहीबारबाट सुरू हुँदैछ । केन्यासँग पाँच वटा टी-२० अन्तराष्ट्रिय तथा तीन वटा एक दिवसिय अभ्यास खेल खेल्न नेपाली टोली केन्या पुगेको हो ।
नयाँ प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपालको यो पहिलो खेल हुनेछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । यसैबीच, समयमै भिसा नआउँदा नेपालका कम्तिमा तीन खेलाडीले बिहीबारको पहिलो खेल गुमाउने भएका छन् ।
अलराउण्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र सहाब आलमले पहिलो खेल गुमाउने पक्का भएको हो । उनीहरु बिहीबार मात्रै केन्यातर्फ प्रस्थान गर्दैछन् । उनीहरुले श्रृंखलाको दोस्रो खेल पनि गुमाउने सम्भावना छ ।
बुधबार मात्रै उडेका अन्य दुई खेलाडी सोमपाल कामी र विवेद यादवले पनि बिहीबारको खेल खेल्ने वा नखेल्नेबारे यकिन भईसकेको छैन । नेपाल र केन्याबीच पहिलो पटक टी २० अन्तर्राष्ट्रिय खेल हुन लागेको हो ।
आईसीसी टी-२० विश्वकप छनोटका क्रममा नेपाल र केन्याबीच दुई पटक भेट भएको छ । सन् २०१२ मा यूएईमा भएको सो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । यस्तै, सन् २०१४ मा यूएईमा नै भएको खेलमा केन्याबिरुद्ध नेपालले ६ विकेटको जित निकालेको थियो ।
केन्या र नेपालबीचको खेल तालिका:
पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५) बिहान ११:४५ बजे
दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६) बिहान ११:४५ बजे
तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८) बिहान ११:४५ बजे
चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९) बिहान ११:४५ बजे
पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०) बिहान ११:४५ बजे
तीन एकदिवसिय अभ्यास खेल:
पहिलो खेल – भदौ १७ (सप्टेम्बर २) बिहान ११:४५ बजे
दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३) बिहान ११:४५ बजे
तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५) बिहान ११:४५ बजे