काठमाडौं, पुस ७ । आर्यन गिरी र इशा श्री शाहले १७औँ जयकर स्मृती राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ तर्फको उपाधि हात पारेको छन् । आईतबार सम्पन्न भएको पुरुष तर्फको फाईनल खेलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधी उचालेका हुन् भने ईशाले सुभाङ्गी लक्ष्मी शाहलाई ६–४, ६–३ ले नै पराजित गर्दै उपाधी हात पारेकी हुन् ।
बिजयी खेलाडीहरुले नगद २५ हजार मेडल तथा प्रमाण पत्र प्राप्त गरे भने पराजित अकी र सुभाङ्गीले नगद १२ हजार पाँच सय प्राप्त गरे । प्रतियोगिताको योङ्गेष्ट पुरुष खेलाडीमा सुजन कुईकेल र महिला तर्फ जु युचेन रहे । उनीहरुले गिफ्ट ह्याम्पर प्राप्त गरे ।
सातदोवाटोस्थित कोर्टमा भएको प्रतियोगिताको पुरुष यु–१२ तर्फको प्रतिस्पर्धामा आयुश्मान हजुर घलेले श्लोक केजर श्रेष्ठलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै जित हात पारे । उनले नगद २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै, दोश्रो स्थान प्राप्त गरेका श्लोकले नगद १० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
जयकर स्मृती एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष यु–९ तर्फको खेलमा स्पर्श तिमिल्सिनाले बाजी मारे । उनले प्रणभ घिमिरेलाई ४–२, ४–० सेटमा पराजित गर्दै स्वर्ण प्राप्त गरेका हुन् । महिलातर्फ शिभाली गुरुङ्गले बाजी मारिन् । उनले कर्मिष्ठा नुघालाई ८–६, ५–३ ले पराजित गरिन् । स्वर्ण हात पार्नेले नगद १० हजार र रजतले पाँच हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
त्यसैगरी, यु–८ पुरुषतर्फ प्रणव घिमिरेले संजोग ब्लोनलाई १०–३, १०–६ ले तथा शिभाली गुरुङ्गले आयुशा जि.सी.लाई १०–६, १०–२ मा पराजित गर्दै स्वर्ण हात पारे । प्रणव र शिभालीले नगद पाँच हजार र संजोग र आयुशाले नगद २५ सयसहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई उदियमान खेलाडी प्रेरणा कोईराला, एनी माथेमा, एसपी अशोक सिंह, प्रशिक्षक कृष्ण घले, प्रायोजक दीपक कार्की, ओलम्कि कमिटिका निरज श्रेष्ठ र आयुष जोशीलगायतले पुरस्कार वितरण गरेका थिए ।