काठमाडौं, असोज १७ । नेपाल ओलम्पिक कमिटिका सदस्यमा निर्वाचित भएका राम अवाले सम्मानित भएका छन् । नेपाल बक्सिङ संघका अध्यक्ष अवालेलाई नेपाल ओलम्पिक कमिटिको निर्वाचनमा सदस्य पदमा निर्वाचित भएकोमा सुनसरी जिल्ला बक्सिङ संघले धरानमा सम्मान गरेको हो ।
सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकासकुमार गुवाजुले सम्मान पत्र हस्तान्तरण गरेका थिए । त्यस्तै, पूर्वाञ्चल क्षेत्रीय बक्सिङका संयोजक ओलम्पियन नरेन्द्र पुमा लिम्बूले पनि अवालेलाई सम्मानपत्र प्रदान गरेका थिए । सोही अवसरमा मोरङ, उदयपुर, झापा, धनकुटा, इलाम जिल्ला बक्सिङ संघ तथा दमक बक्सिङ क्लबले पनि संयुक्त रुपमा सम्मान गरेका थिए ।
सम्मानका अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल बक्सिङ संघका बरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, उपाध्यक्ष भोजराज सिटौलालगायतले मन्तव्य ब्यक्त गरेका थिए । सम्मानपश्चात आफ्नो मन्तब्यमा राष्ट्रिय खेलकुद परिषद्बाट नेपाली बक्सिङको बिकास र विस्तारमा अतुलनिय सहयोग रहदै आएको स्मरण गराउदै अवालेले भने, ‘ओलम्पिकमा बक्सिङको उपस्थितिले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार गर्ने साथै आईओसीमा नेपाली बक्सिङको विकास र बिस्तारका लागि सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा हामीले गरेका छौं । म यहाँहरुको सम्मानको उर्जालाई बक्सिङर्को िवकासमा समर्पित गर्दै नेपालीको महान पर्व बिजया दशमी, दिपावली, नेपाल सम्बत र छठको अवसरमा स्वस्थ्य, सुख र समृद्धिको कामना गर्दछु ।’
सम्मान कार्यक्रममा नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठलगायतका खेलाडी, प्रशिक्षक, संघका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।