पढाई, खेल र जागीरलाई निरन्तरता दिदैँ खेल क्षेत्रमा अगाडी बढेका जुम्लाका चेतनराज गिरी हाल खेलकुदमै पूरै समय व्यतित गरिरहेको बताउछन् । ग्रामिण विकास र व्यवस्थापनमा गरी दुई विषयमा स्नातकोत्तर गरेका उनी एनजीओ, आइएनजीओ, तथा जिल्ला विकास समितिको अफिसर भएर काम गरेको अनुभव सुनाउँछन् । त्यसपछि लामो समयदेखि इन्टरनेशनल तेक्वान्डो फेडेरेशन नेपालको रिप्रेजेन्टेटिभ समेत रहेका गिरीले विभिन्न खेलकुदहरुमा खेलाडी, कोच, एम्पायरको रुपमा धेरै पदक, अवार्डहरु राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट पाएका छन् । आफूले पाएका अवार्डहरुको सम्झना गर्न हम्मेहम्मे पर्ने उनको नेपालमा रग्बी खेललाई संस्थागत विकास गर्ने कार्यमा महत्वपूर्ण भूमिका रहेको छ ।
हाल काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएका गिरी भन्छन्, ‘अहिले पनि रग्बी संघको महासचिव भएकोले यसमा बढी नै जिम्मेवार छु, यसको सिस्टम अनुसार हामीले पहिला एसिया रग्बीको एशोसिएट मेम्बर सन् २०१४ मा र सन् २०१८ मा फुल मेम्बरसिप लियौँ । अब आगामी वर्ष वल्र्ड रग्बीको एशोसिएट मेम्बरसिप लिदैछौं र त्यसको दुई वर्षपछि रग्बीको फुल मेम्बरसिप हुन्छौं । यति भइसकेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय मै नेपालले रग्बी खेलबाट नाम राख्छ र विभिन्न क्षेत्रबाट सहयोगदेखि लिएर सबैकुरा हुन्छ ।’ ‘खेलकुदले आर्थिक फाइदा मात्रै नदिएर एउटा स्वस्थ नागरिक उत्पादन गर्ने र खेल पर्यटनमा समेत टेवा पुग्ने भएकोले सरकारले खेलकुदलाई प्राथमिकता दिएर लगानी गर्नुपर्ने हो ?’, भनि सरोकारवाला निकायहरुसँग गुनासो समेत गर्ने उनै गिरीसँग खेलक्षेत्रको सेरोफेरोमा रहेर गरिएको कुराकानी :—
तपाईं खेल क्षेत्रमा कसरी लाग्नु भयो, कुन खेलसँग सम्बन्धित हुनुहुन्छ ?
मैले खुलकुद शुरु गरेको नौ कक्षा पढ्दादेखि लगभग वि.सं.२०३९/४० तिर हो । त्यसपछि २०४२/४३ सालतिर तेक्वान्डो सिके, २०४६ सालतिर बुटबलमा नेशनल टुर्नामेन्ट खेले र ०४६ सालमै जनकपुरमा इन्टरडोजाङ तेक्वान्डो टुर्नामेन्ट खेले । २०४८ सालमा धनगढीमा भएको दोस्रो राष्ट्रिय प्रतियोगिता खेले । त्यसरी नै बिस्तारै खेलकुदतिर लाग्दै गइयो । त्यसपछि २०५२ देखि ०५५ सालसम्म राष्ट्रिय खेलकुद परिषद् तेक्वान्डो संघको सहायक प्रशिक्षकको रुपमा जागीर खाए । २०५५ सालमा इन्टरनेशनल तेक्वान्डो फेडेरेशन भन्ने नयाँ संस्था खोल्यौ । त्यो संस्थाको पहिलो वरिष्ठ उपाध्यक्ष भए । अरु सानासाना नेशनल इन्टरनेशनल इभेन्टहरु त धेरै खेले । खेल क्षेत्रमा स्पोटर्स् फ्रिल्यान्स जस्तै हो । धेरै खेलसँग आवद्धता रहेको छ । विशेष गरी पहिला शुरु गरेको मार्शल आर्टस्बार अर्थात तेक्वान्डो हो । यसरी नै खेल क्षेत्रमा लागे ।
तपाईं आफू खेल्न, खेलाउन र सिकाउन कुनकुन देश जानु भएको छ ?
तेक्वान्डोको लागि सन् १९९९ मा कोच भएर खेलाडी लिएर अर्जेन्टिना पहिलो पटक गएपछि मेरो विदेश यात्रा शुरु भएको हो । त्यस्तै, सन् २००० मा कोरिया र जापानमा गयौ तर त्यहाँ हाम्रो टिमले त्यसमा सफलता हासिल गर्न सकेनौं । त्यसपछि कोरिया, जापानलगायतका एसियन खेलहरुमा जाने आउने भइराख्यो । खेलकुद परिषद्मा २०६४ सालमा तेक्वान्डो आई.टी.एफ. दर्ता भयो, जसमा वरिष्ठ उपाध्यक्ष थिए । सन् २००७ मा क्यानाडा वल्र्ड च्याम्पनसिममा मास्टर इन्टरनेशनल रेफ्रीको रुपमा सहभागी पनि भए । अहिले म हरेक इभेन्टमा रेफ्री गर्न क्यानडामा अन्तराष्ट्रिय प्रशिक्षक तालिममा भाग लिएर जान्छु । खेलकुदकै सिलसिलामा ७४ वटा देशमा गइसकेको छु । क्यानाडामा सन् २००७ देखि ०९ सम्म गरी तीन वर्ष तेक्वान्डो सिकाए । त्यहाँबाट फर्केर नेपालमा आएपछि आई.टी.एफ.मा निरन्तरता दिए ।
रग्बी खेलमा चाहिँ कसरी आवद्ध हुनु भयो ?
सन् २०११ मा आई.टी.एफ.को तेक्वान्डो वल्र्ड च्याम्पियनसिप न्यूजिल्याण्डमा हुँदै गर्दा त्यसबेला त्यहाँ रग्बीको वल्र्ड कप पनि हुँदै थियो । त्यसपछि मेरो न्यूजिल्याण्डकै एकजना साथीले मैले तेक्वान्दोको रेफ्रि गरिराखेकै समयमा वल्र्ड कप रग्बीको न्यूजिल्याण्ड र साउथ अफ्रिकाको म्याचको दुई वटा टिकट लिएर आएकोले मलाई पनि रग्बी हेर्ने मौका जुर्यो । त्यसबेला त्यो रग्बी खेल हेर्दा मलाई धेरै उत्सुक बनायो । कस्तो मज्जाले खेल्ने, संसारको मान्छे हेर्न आउने, खेल्ने तरिका पनि राम्रो, खेलाडी पनि शारिरीक रुपमा तन्दुरुस्त देखिनेलगायतका सबै पक्ष राम्रो लागेपछि यो रग्बी खेल नेपालमा पनि गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । र, नेपालमा रग्बी खेल अहिलेसम्म सुनिएकै छैन भन्ने आफूलाई लागेपछि सन् २०११ मा खेलकुद परिषद्मा दर्ता छ छैन भनेर हेरियो । तर, वि.सं.२०५२ सालमा रग्बी संघ दर्ता भइसकेको रहेछ । दर्ता भएको त्यो निश्क्रिय संस्थालाई पत्ता लगाउँदै जाँदा गोपाल क्षेत्री भन्ने व्यक्तिले सन् २००५ तिर खेल्नु हुँदोरहेछ । नेपालस्थित अमेरिकी, ब्रिटिश एम्बीसीहरुमा विदेशीहरु आउदा उनीहरुसँग फोहरा दरबारमा गोपाल क्षेत्रीले रग्बी खेल्नु हुँदो रहेछ भन्ने पत्ता लगायौं । त्यो निश्क्रिय संस्थालाई सन् २०११ देखि खोज्दै जाँदा गोपाल क्षेत्रीसँग २०१२ मा भेट भयो । उहाँसँग भेट भएपछि रग्बीसम्बन्धी केहि जानकारीहरु थाहा भएपनि प्राक्टिकल्ली रुपमा जानेतिर सोच्यौ र गोपाल क्षेत्रीसँग रग्बी खेललाई अगाडी बढाउनु पर्छ भन्ने कुरा भएपछि एउटा कमिटि गठन गर्यौ । कमिटी गठन गर्ने सिलसिलामा वर्तमान अध्यक्ष टंकलाल घिसिङको अध्यक्षतामा एउटा टिम बनायौ । म महासचिवमा बसे । सन् २०१२ को मे÷जुन तिर एउटा कमिटी बनाएर खेलकुद परिषद्ले तदर्थ समिति बनायो । तदर्थ समिति बनाइसकेपछि हामीले ४५ दिनपछि जिल्लाजिल्लामा गएर सन् २०१३ मा रग्बी संघको पुनर्गठन गर्यौ । र, सन् २०१३ देखि लगातार यसमा हामी लागिराखेका छौं । यसरी यो खेललाई अगाडि बढाउने क्रममा अहिले हामीसँग जुनियर सिनियर सबै गरेर २० वटा क्लब छ भने उपत्यकाभित्र ३० वटा स्कुलहरु छन् । काभ्रे, धनगढी, चितवन, हेटौडामा रग्बी खेलाइराखेका छौं । पूर्वतिर पनि शुरु गरिराखेका छौं । अहिले हामीसँग २५ सयदेखि तीन हजारको हाराहारीमा खेलाडीहरु छन् ।
रग्बी कुन उमेरकाले र कतिजना भएर कसरी खेलिन्छ ?
यो खेल आठ वर्षको उमेरदेखि शुरु गर्छौ । यसमा १२ वर्ष मुनिकाको समुह, १४ वर्ष मुनिकाको समुह, १६ वर्ष मुनिकाको समुह, १८ वर्ष मुनिकाको समुह, २० वर्ष मुनिकाको समुहको र वयस्क समुहहरुको पनि हुन्छ । यो दुई तीनवटा सेग्मेन्टमा महिला र पुरुष दुबैले खेल्ने खेल हो । एउटा सेभेन्स भन्ने सात जनाविरुद्ध सात जना भएर खेलिन्छ, अर्को १० जनाविरुद्ध १० जना भएर र अर्को १५ जनाविरुद्ध १५ जना भएर खेलिन्छ । नेपालमा यि तीनवटै सेग्मेन्टमा खेलिन्छ तर इन्टरनेशनलमा सहभागीता जनाएको भने सेभेन्सको मात्रै हो जुन ओलम्पिकमा खेलिन्छ । सेभेन्समा सातजनाले खेल्ने र पाँचजना एक्स्ट्रा हुनुपर्छ । यो फुटबल ग्राउण्डकै हाराहारीमा खेलिन्छ । साढे सात र साढे सात मिनेट गरी यो खेल १५ मिनेटको हुन्छ, जसमा दुई मिनेटको ब्रेक हुन्छ ।
नेपालले रग्बी खेलमा के कस्ता प्रतियोगितामा सहभागिता जनाएको छ ?
हामीले चेन्याईमा गएर सन् २०१५ को ओलम्पिक क्वालिफायर खेलिसकेका छौं । यसपाली पनि हामी ओलम्पिक क्वालिफायरमा भाग लिदैछौं । जुन आगामी वर्ष जापानमा ओलम्पिक खेल हुँदैछ । यसरी हामी रग्बी खेलमा विकासको चरणमा छौं । यो ओलम्पिक खेल भएकोले एसियन गेम्स्मा पनि समावेश गरिएको अफिसियल खेल हो भने श्रीलंकाको नेशनल गेम हो । साउथ एसियन गेम्स् नेपालमा हुँदैछ, यसपाली नेपालले चाहिँ रग्बी खेललाई इनकर्पोरेट गरेन तर अर्को पटक श्रीलंकाले चाहिँ इनकर्पोरेट गर्दैछ । हालसालै जापानमा वल्र्ड कप हुँदैछ, जुन एसियामै पहिलो पटक हुन लागेको हो तर यसमा हामी सहभागी छैनौं । तथापी विश्वकप हेर्नका लागि नेपाली राष्ट्रिय टिमका खेलाडी, स्कुल रग्बी कमिशनका पदाधिकारी तथा नेपाल रग्बी संघलाई सहयोग गर्ने प्रायोजकहरु जादैछन् ।
रग्बीमा विदेशमा जत्तिको नेपाली खेलाडीहरु सक्षम नहुनुको कारण के हो ?
विदेशमा पूर्वाधार राम्रो छ, लगानी राम्रो गरिन्छ, सरकारले लगानी गर्छ । त्यहाँको स्पोन्सरहरु पनि ठूलठूला मल्टिनेशनल कम्पनीहरु हुन्छन्, उनीहरुले लगानी गर्छन् । जस्तो, वल्र्ड कप रग्बीमा टोयटा, ल्याण्ड रोभर, डीएचएल कुरियर्स जस्ता ठूला– ठूला कम्पनीले सहयोग गरिराखेको छ । नेपालमा त्यस्तो ठूलठूला कम्पनीहरु छैनन् । सरकारले पनि कत्तिलाई गर्छ र ? अर्कोतिर सरकारको लगानी छैन, खाली जितेर ल्याएन मात्रै भन्छ । जित्नका लागि त लगानी गर्नु पर्यो नि ? पूर्वाधार केहि छैन, खेल्ने ठाउँ छैन । त्यसले गर्दा अलि गाह्रो छ । लगानी नै नभएपछि त प्रतिफल आउन गाह्रै हुन्छ नि । त्यसैले, देशको अवस्थालाई हेर्ने हो भने अहिले हामीले खेल्ने भनेको वल्र्ड कपभन्दा पनि सेभेन्सको ओलम्पिक हो । हाम्रो स्पीड, खेलाडीहरुको उचाई र क्षमताले रग्बी सेभेन्समा हामी अगाडि बढ्न सक्छौं । हुनत नेपाली खेलाडीहरुको अहिलेको शारीरिक उचाई र तौलमा क्रमिक वृद्धि भएको छ ।
नेपाली खेलाडीको लागि फिजिकल फिट्नेश, डाइट आदिको व्यवस्थापन कमजोर भएर पनि खेलाडी पछि पर्छन भनिन्छ नि ?
वास्तवमा भन्ने हो भने, हाम्रो नेपालको हावापानी नै डाइट हो । यस्तो हावापानी संसारमा कहि छैन । पानी खाएको भरमा हामी खेल्न सक्छौ । तथापि अझ सन्तुलित आहारको व्यवस्थापन भएको भए त पक्कै पनि हामी सर्वश्रेष्ठ नै हुने थियौं । नेपालको प्राकृतिक वातावरण, हावापानी नै राम्रो छ । विदेशीको खाने, बस्ने, लगाउने आदि हेरेर भन्दा पनि हाम्रो आर्थिक स्तर, क्षमता, साधन स्रोतले गर्दा अहिलेसम्म हामीले धान्न सकिराखेका छौं ।
रग्बी खेल सिकाउन आफ्नै ट्रेनिङ सेन्टर चाहिँ खोल्नु भएको छैन ?
आफ्नै चाहिँ ठ्याक्कै छैन । हामीले फुटबल ग्राउण्डलाई नै प्रयोग गरिराखेका छौं । रग्बी खेल्नको लागि आफ्नै ग्राउण्ड होस भन्ने लागेर अहिले उपत्यकामा खोजिराखेका छौं, नगरपालिकाहरुसँग कुरा भइराखेको छ । अर्को कुरा हामी वल्र्ड रग्बी, एसिया रग्बीसँग सम्बन्ध छौ भने एसिया रग्बीको सदस्य हौं । यसपाली वल्र्ड रग्बीको एशोसिएट मेम्बर लिदैछौं र दुई वर्षपछि फुल मेम्बर हुन्छौ । रग्बी खेलको स्टेडियमको लागि यसपाली डीपीआर(डिटेल प्रोजेक्ट रिपोर्ट) बनाउनका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा केहि रकम विनियोजन गरिएको छ । र, डीपीआर बनिसकेपछि वल्र्ड रग्बी, एसिया रग्बी, सरकारलगायत को–कसले कति आर्थिक सहयोग गर्ने भन्ने तयारी भइराखेको छ । यो वर्ष हामी डीपीआर तयार गर्छौ र अर्को वर्ष वल्र्ड रग्बीमा डीपीआर पेश गछौं । यसको लागि दुई/चार ठाउँमा जग्गा हेरिराखेका छौं । अब चाहिँ हामीले एक÷दुई वर्षभित्रमा आफ्नै रंगशाला बनाउने छौं ।
अहिले नेपालमा रग्बीका कस्ता खेलाडी, कहाँ र कसरी खेलिराखेका छन् ?
नेपालमा अहिले विभागीय रुपमा आर्मीले चार वर्षदेखि खेलिराखेको छ । नेपाल आर्मीमा हाम्रो रग्बी खेल ट्रेनिङ भइराखेको छ । विशेष गरी भैरवदल गणमा आर्मी टिम छ, त्यहाँ उनीहरु रग्बी खेल्छन् । प्रहरी र सशस्त्र तिर पनि रग्बी खेलाडी उत्पादन गर्ने कुराहरु भइराखेको छ । यसरी विभागीय तिर रग्बी खेल विस्तार गर्न तिर लागिराखेका छौं । त्यस्तै, स्कुल रग्बी कमिशन छ । स्कुल रग्बी कमिशनको संयोजनमा भर्खरै मात्रै टोखामा भएको मेयर कपमा रग्बी पनि राखेको थियो । स्कुल स्कुलमा रग्बी खेलाइन्छ, भइ पनि राखेको छ । छिट्टै रग्बी १५ को प्रतियोगिता गर्दैछौं, यसमा आर्मीको रग्बी क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर क्लब, बनेपाको धुलिखेल रग्बी क्लब गरी चारवटा टिम छन् । अहिलेसम्मको यिनै बलियो चारवटा टिम रग्बी खेलिराखेको छ । भर्खरै मात्र सेभेन्स टिमको खेलमा पुरुषमा धनगढीको टिम प्रथम भयो, महिलामा काठमाडौंको महिला रग्बी क्लब प्रथम भयो । जसमा आठ वटा टिमको सहभागिता रहेको थियो ।
रग्बी खेललाई चाहिने खेल सामग्री आदिको व्यवस्थापन कसरी गरिराख्नु भएको छ ?
हामीसँग केहि नेपाली स्पोन्सरहरु नै छन् । कमिटीकै मान्छेहरुले रग्बी खेलको गतिविधिमा सहयोग गर्नुहुन्छ । खेलकुद परिषद्ले गर्ने भनेको त न्यूनतम नै हो, जुन सबैलाई थाहा भएकै कुरा हो । यसपाली साउथ एसियन गेममा हामी पर्यौ भने ओलम्पिकले गर्ने कुरा हुन सक्छ । बाहिर खेल्न जाँदा स्पोन्सरबाट उठाउँछौं र स्पोन्सरबाट वर्षमा २० देखि २५ लाखसम्म उठेको हुन्छ । एसियन रग्बी सेभेन्स टुर्नामेन्ट चार वर्षदेखि लगातार गरिराखेका छौं, यसपाली पनि गर्दैछौं । यो गेम व्यक्तिगत दुई/चार जना भएर खेल्दा सजिलो छ तर टिममा धेरै जना हुन्छन् । सेभेन्सको लागि एकपटक बाहिर जाँदा १५ जना महिला र १५ जना पुरुष गरी ३० जना खेलाडी लानु पर्छ । एउटा गेममा जाँदा प्रत्येकलाई दुई सेट जर्सी लानुपर्छ । त्यसमा फिजियो, कोच अनिवार्य छ र कोच पनि वर्गीकृत भएकोले त्यसै अनुसार लानु पर्छ । यसरी धेरै कुराहरु व्यवस्थित गरेर लानुपर्ने भएकोले अहिले हामीले जेनतेन गरिराखेका छौं ।
नेपालमा रग्बीको भविष्य कस्तो छ ?
भविष्य एकदम उज्वल छ । हामी यस खेलको माध्यमबाट राष्ट्रलाई पदक ल्याउने कार्यमा सधैं अग्रसर रहने छौं ।
रग्बी खेल त्यति धेरै सुनिदैन, नेपालीहरुलाई त थाहा पनि छैन होला ?
स्वभाविक हो, धेरैलाई थाहा छैन । हामीले नेपालमा गत वर्ष मात्र रग्बी खेलको वल्र्ड कपको ट्रफि ल्याएका थियौँ । त्यसलाई एभरेष्टको वेस क्याम्पमा लगेर पनि राखेका थियौँ । रग्बी खेल सन् २००० पछिका पुस्तालाई थाहा छ भने यो भन्दा अगाडिको पुस्तालाई त्यति थाहा छैन । र, अहिले स्कुलमा व्यापक रुपमा प्रशिक्षण पनि भइराखेको छ । रग्बी गेम फुटबल जत्तिको प्रख्यात त छैन नेपालमा तर बिस्तारै हामी परिचित गराउँदैछौं । फुटबलमा लगानी धेरै छ, फिफालगायतबाट धेरै आर्थिक सहयोग आउछ । रग्बी खेल नेपालमा केहि दशकदेखि मात्रै खेलिएको हुनाले त्यत्ति प्रख्यात छैन तर जापान, मलेसिया, कोरिया, हङकङ, श्रीलंका, भारत, चीन लगायतमा धेरै प्रख्यात छ । यसपाली रग्बीको वल्र्डकप जापानमा हुँदैछ भने अर्को वर्ष ओलम्पिक पनि जापानले नै गर्दैछ । उनीहरुलाई खेल बाट नै पैसा आउँछ र राष्ट्रिय अर्थतन्त्रलाई वृद्धि गर्ने कार्यमा लागि परेका छन् । खेलकुदको माध्यमबाट धेरैभन्दा धेरै विदेशी खेलाडीहरुलाई देशभित्र भित्र्याउने र खेल पर्यटनबाट राष्ट्रिय समृद्ध हुन्छ भन्नेमा विश्वास गर्दछन् ।
अहिले तपाईं खेलकुदमा कत्तिको सहभागीता जनाइराख्नु भएको छ ?
म स्पोर्टस फ्रिल्यान्सर हु, ८ देखि १० वटा खेलसँग सम्बद्ध छु । मार्शल आर्ट्स धेरै विधामा सम्बद्ध छु । अटो स्पोट्र्समा पनि छु, कार रेसिङ्गको मार्शल पनि हो । पहिलो पटक सन् २०१४ मा जुम्ला, रारा अल्ट्रा म्याराथुन मेरै संयोजकत्वमा भएको हो, जुन अहिले चलिराखेको छ । अहिले पनि वर्षमा चारवटा देश जान्छु । आइटीएफ तेक्वान्डोको दुईवटा र रग्बीको दुईवटा इभेन्टमा बाहिर जान्छु र अन्य खेलहरुमा पनि आवश्यकता अनुसार जाने गरेको छु ।