काठमाडौं, साउन ४ । नेक्सस क्रिकेट एकेडेमी (एनसीए)को टोली मैत्रीपूर्ण क्रिकेट खेल्न आज श्रीलंकाको कोलोम्बो जाँदै छ । जुलाई २१ देखि २८ तारिखसम्म हुने मैत्रीपूर्ण खेलअन्तर्गत एनसीएले ७ खेल खेल्ने छ ।
एनसीएले श्रीलंकाको बासुलिका क्रिकेट एकेडेमीसंग तीन खेल, एयर फोर्स र आर्मीसंग एक÷एक खेल तथा स्थानीय क्लबसंग दुई खेल खेल्ने तालिका छ । सबै खेल ५० ओभरको हुनेछ ।
खेलाडीमा उत्तम थापा मगर (कप्तान), अभिषेक कुँवर (उप कप्तान), सार्थक न्यौपाने, अभिषेक बुढाथोकी, रोचक यादव, इन्द्र देउवा, हरिश केसी, रोशन शाह, हिमाल न्यौपाने, रमेश बुढा, सुमित बुढाथोकी, इशान शेख र तनिश स्वप्निल रहेका छन् । प्रशिक्षकमा भरतकुमार शाही तथा व्यवस्थापकमा सरस्वती शाही छन् । टोलीलाई सफलताको शुभकामना दिदैँ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
कार्यक्रममा सदस्य–सचिव सिलवालले क्रिकेटको हित नचाहनेहरुका कारण क्रिकेटको विवादले निकास नपाएको बताउदै ६ महिना भित्र क्रिकेटको विवाद समाधान गर्ने गरी अगाडि बढिरहेको बताए ।
‘क्रिकेटलाई गति दिन नचाहनेहरुको कारण क्रिकेटको समस्या समाधान नभएको हो । संघ क्रिकेटलाई माथि उठाउन हो क्रिकेट संघलाई माथि उठाउनका लागि होइन ।’– सदस्य–सचिव सिलवालले भने– ‘छ महिनाभित्र क्रिकेटको समस्या समाधन गर्नेतर्फ अग्रसर छु । सकिन भने आईसीसीमा गएर भएपनि निकासका लागि पहल गर्छु ।’