काठमाडौं, साउन १ । आर्थिक वर्षको अन्तिम दिन मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ११ सय ५८ खेलाडीलाई करिब एक करोडको नगद पुरस्कार प्रदान गरेको छ । प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र राष्ट्रिय कीर्तिमान बनाएका छ सय ९६ खेलाडीलाई राखेपले ७७ लाख रुपैयाँ वितरण गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले सो पुरस्कार वितरण गरेका थिए ।
त्यसैगरी, आव २०७५/७६ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता चार सय ६२ खेलाडीलाई २३ लाख ७८ हजार रुपैयाँ प्रदान गरियो । पुरस्कार वितरण हुने सूचना सोमबार मात्र थाहा पाएका कतिपय खेलाडी पुरस्कार लिन उपस्थित हुन सकेनन् । एसिसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता जितेको नेपाली टिमका चार खेलाडी मात्र पुरस्कार लिन उपस्थित थिए । टिमका अधिकांश खेलाडी बाहिर रहेकाले पुरस्कार लिन आउन नपाएका हुन् । यी बाहेक कराते, तेकान्डोलगायत खेलका कतिपय खेलाडी अनुपस्थित थिए । उक्त पुरस्कार लिन आउन नपाएकाहरुको पुरस्कार सुरक्षित हुने जनाइएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेकालाई जनही १५ हजार तथा टिममा स्वर्ण हात पार्नेलाई जनही सात हजार नगद पुरस्कार दिइएको थियो । विभिन्न चार खेलमा राष्ट्रिय कीर्तिमान बनाउन सफल १६ खेलाडीलाई २६ कीर्तिमानका लागि प्रत्येक कीर्तिमानको २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
आठौंमा एथलेटिक्सकी चन्द्रकला लामगाडेले २, कृष्णा चौधरी, तुलसा खत्री, संगीता मेचे र सरस्वती भट्टराईले (रिले) तथा सन्तोषी श्रेष्ठले समान १–१ कीर्तिमान बनाएका थिए । पौडीमा गौरिका सिंहले ६, तेन्जिङ नोर्गे गुरुङले २, शुभम् श्रेष्ठले २, शायद हम्जा शाहले ३, एलेक्जेन्डर शाहले २, अनुभव सुब्बाले २ र नाथेन दोर्जे शेर्पाले २ कीर्तिमान रचेका थिए ।
त्यस्तै सुटिङकी सुस्मिता नेपाल तथा गोल्फका टंकबहादुर कार्की र शुक्रबहादुर राईले समान १–१ कीर्तिमान बनाएका थिए । यसैगरी आर्थिक वर्ष २०७५/७६ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता चार सय ६२ खेलाडीलाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरियो । कार्यक्रममा तीन सय ४५ स्वर्ण, २५ रजत र ९२ कास्य गरी कुल चार सय ६२ पदकधारीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरियो । कार्यक्रममा जम्मा २३ लाख ७८ हजार रुपैयाँ प्रदान गरिएको थियो ।