काठमाडौं, असार ३० । भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । छात्रमा गण्डकीले प्रदेश १ तथा प्रदेश ४ ले प्रदेश ७ विरुद्ध खेल्ने छन् । त्यस्तै छात्राको सेमिफाइनल गण्डकी र प्रदेश ७ तथा प्रदेश ५ र प्रदेश १ बीच हुनेछ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे । सो अवसरमा आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रमेशकुमार सिलवालले आठौं राष्ट्रिय खेलकुदका कारण राष्ट्रपति रनिङ सिल्ड असारमा गर्नु परेको बताउदै अबदेखि राष्ट्रपति रनिङ सिल्ड अनुकूल समयमा आयोजना गरिने प्रतिबद्धता जनाए ।
केन्द्रीयस्तरको यो प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डीमा प्रतिस्पर्धा भइरहेको छ । चार प्रदेश १, ४, ५ र ७ को सहभागिता रहेको प्रतियोगिताको एथलेटिक्समा ८८ खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । भलिबल र कबड्डीमा चारै प्रदेशबाट छात्र/छात्राको टिम सहभागी छन् । करातेमा ४८ खेलाडीले ८ स्पर्धामा सहभागिता जनाएका छन् । तेक्वान्दो र उसुमा समान ४८ खेलाडीले समान ६ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
एथलेटिक्स लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेप सेमी कभर्डहल, भलिबल त्रिपुरेश्वरस्थित राखेपको बहुउद्देश्य कभर्डहल, कराते र तेक्वान्दो सातदोबाटो तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भइरहेको छ ।