काठमाडौं, असार २९ । गण्डकी प्रदेशका युकेश थापाले ११औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तेक्वान्दोमा आइतबार स्वर्ण जितेका छन् । फाइनलमा पुरुष ४५ केजीमुनि युकेशले गण्डकीका पन्नु लोधलाई पराजित गरी स्वर्ण जितेका हुन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रदेश १ का मनोज माझी तथा प्रदेश ५ का सुजवकुमार यादवले कांस्य जिते । महिला ४२ केजीमुनि क्षितिजा गुरुङ पहिलो भइन् । फाइनलमा क्षितिजाले प्रदेश ५ की मुस्कान पुनलाई हराइन् । प्रदेश १ की कुसुम लिम्बू तथा गण्डकीकी सोनिया माझी तेश्रो भए ।
सो अवसरमा आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रमेशकुमार सिलवालले आठौं राष्ट्रिय खेलकुदका कारण राष्ट्रपति रनिङ सिल्ड असारमा गर्नु परेको बताउदै अबदेखि राष्ट्रपति रनिङ सिल्ड अनुकूल समयमा आयोजना गरिने प्रतिबद्धता जनाए । केन्द्रियस्तरको यो प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डीमा प्रतिस्पर्धा भइरहेको छ ।
प्रदेश १, ४, ५ र ७ को सहभागिता रहेको प्रतियोगिताको एथलेटिक्समा ८८ खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । भलिबल र कबड्डीमा चारै प्रदेशबाट छात्र÷छात्राको टिम सहभागी छन् । करातेमा ४८ खेलाडीले ८ स्पर्धामा सहभागिता जनाएका छन् । तेक्वान्दो र उसुमा समान ४८ खेलाडीले समान ६ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
एथलेटिक्स लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेप सेमी कभर्डहल, भलिबल त्रिपुरेश्वरस्थित राखेपको बहुउद्देश्य कभर्डहल, कराते र तेक्वान्दो सातदोबाटो तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भइरहेको छ । व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः पाँच हजार, चार हजार र तीन हजार नगद पुरस्कार पाउने छन् । टिममा पहिलोदेखि तेश्रो हुने खेलाडीलाई क्रमशः दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय नगद पुरस्कार दिइने छ । जुनियर राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता मंगलबारसम्म चल्नेछ ।