काठमाडौं, असार २८ । अन्तर्राष्ट्रिय टी–२० खेलमा मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । आज बिहान क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको हो ।
एक सय २९ रनको लक्ष्य नेपालले १८ ओभर तीन बलमा तीन विकेटको क्षतिमा भेटायो । नेपालको जीतमा कप्तान पारस खड्का नायक बने । उनले विस्फोटक ब्याटिङ गर्दै मात्र ५० बलमा ८६ रन बनाए । यसक्रमा उनले पाँच छक्का र आठ चौका हिर्काए । त्यस्तै शरद भेषाकरले १६, ज्ञानेन्द्र मल्लले सात, प्रदीप ऐरीले आठ र रोहित कुमार पौड्यालले पाँच रन बनाए ।
आइसीसी टी–२० विश्वकप एशिया छनोट फाइनलको तयारीका लागि नेपाल मलेसियाको भ्रमणमा रहेको छ । यसअघि, किनरारा ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २८ रन बनाएको थियो । मलेसियाका लागि वीरनदिप सिंहले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४९ बलमा सात चौका र एक छक्का हिर्काए । त्यस्तै, कप्तान अहमद फैजले ४५ रन बनाए । ३९ बलमा उनले दुई छक्का हिर्काए ।
नेपालका लागि करन केसीले तीन विकेट लिए । केसीले तीनै विकेट अन्तिम ओभरमा लिएका थिए । उता, सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।
सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोलीले घरेलु टोली मलेसियासँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ । टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।
त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।
नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।