काठमाडौं, असार १८ । एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले सानदार सुरुवात गरेको हो ।
मलेसियाको किनरारा ओभलमा चीनले दिएको ५४ रनको लक्ष्य नेपालले बिना विकेटको क्षतिमा ५ ओभरमै पूरा गर्यो । नेपालको जितमा पवन सर्राफले नटआउट ४६ रन र रित गौतमले नटआउट १० रन जोडे । पवनले २१ बलमा ६ चौका र ३ छक्का हिर्काए । रितले १० बलमा १ चौका हिर्काए । त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चीन २३.१ ओभरमा ५३ रनमा अलआउट भयो ।
चीनका लागि ओपनरद्वय गुओहाओ गाओ र लियाङ चेनले १३–१३ रन जोडे । अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न नपाउँदै नेपाली बलरको सिकार भए । चीनलाई सस्तैमा रोक्ने क्रममा नेपालका सागर ढकालले ६ विकेट लिए । उनले ९.१ ओभरमा ३ मेडन राख्दा १९ रन दिए । तिलकराज भण्डारीले ३ विकेट हात पार्दा कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो ।
समुह ए मा रहेको नेपालको समुहमा चीन र सिंगापुर छन् । नेपालले आफ्नो दोस्रो तथा समुह चरणको अन्तिम खेल असार २० गते सिङ्गापुरसँग खेल्नेछ । समुहमा दुबै खेल हारेपछि चीन बाहिरिएको छ ।
नेपाल र सिंगपुर अन्तिम खेलअघि नै सेमिफाइनलमा पुगेका छन् । नेपाल र सिंगपुरबीचको खेल समुह विजेताका लागि हुनेछ । प्रतियोगितामा यसअघि आठ टोलीले सहभागिता जनाउने भनिए तापनि प्रतियोगिता शुरु हुनु केही दिन अघिमात्रै म्यानमारले नाम फिर्ता लिएको थियो । समूह ए रहेको म्यानमारले नाम फिर्ता लिएपछि उक्त समूहमा तीन टोली मात्रै सहभागी भएका हुन् । अर्को सकुहमा भने चार टोली छन् ।
अर्को समुहमा आयोजक मलेसियासँगै, भुटान, हङकङ र थाइल्याण्ड रहेका छन् । समुहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउने छन् । प्रतियोगिता यही असार २५ गतेसम्म चल्नेछ ।