काठमाडौं । नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप फुटबलको चौंथो खेलमा बराबरी खेल्दै अंक बाडेको छ ।
बुधबार भएको खेलमा मनाङले १० खेलाडीमा सिमित भारतीय क्लब मिनर्वा पन्जाबसंग १-१ गोलको बराबरी खेलेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता उल्टाएर मनाङले मिनर्वासंग बराबरी खेल्दै अंक बाडेको हो ।
खेलको ४० औं मिनेटमा थोइबा सिंहले गोल गर्दै मिनर्वालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसअघि खेलको १२ औं मिनेटमा मिनर्वाको एक उत्कृष्ट प्रहार पोस्टको क्रस बारमा लागेर फर्किएको थियो । थोइबा कै प्रहार क्रस बारमा लाग्दा मिनर्वाले अग्रता बनाउनबाट चुकेको थियो ।
यस्तै पहिलो हाफको इन्जुरी समयमा प्रतिक जोशीले रातो कार्ड पाएपछि मिनर्वा १० खेलाडीमा समेटिएको थियो । मनाङका सोमिडे एडिलाजालाई लडाएपछि पहेलो कार्ड पाएका जोशीले रेफ्रीसंग विवाद गर्दा रातो कार्ड पाएका थिए ।
दोस्रो हाफमा भने मनाङले सुधारिएको खेल प्रदर्शन गर्दै बराबरी गोल फर्कायो । दोस्रो हाफमा आक्रामक खेल पस्केको मनाङका लागि ८० औं मिनेटमा साहिद अजिजले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।
बराबरीसंगै समूह ई मा रहेको मनाङले ४ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ । मिनर्वा ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस समूहमा चेन्नायीन एफसी ७ अंक जोडेर शीर्ष स्थानमा रहदा दोस्रो स्थानको अबहानी लिमिटेडको ४ अंक रहेको छ ।
यसअघि भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको पहिलो लेगको खेलमा मनाङ र मिनर्वाले २-२ गोलको बराबरी खेलेका थिए ।
अब मनाङले पाँचौ खेलमा बंगालदेशको अबहानी लिमिटेडसंग उसैको मैदानमा खेल्ने छ । घरेलु मैदानमा भएको खेलमा मनाङ अबहानीसंग १-० गोल अन्तरले पराजित भएको थियो ।
मिनर्वासनाग्को बराबरीले मनाङको अर्को चरण पुग्ने सम्भावना समेत कायम रहेको छ ।