काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा साग खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको हो ।नेपालले आयोजना गर्ने साग खेलकुद सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म हुनेछ ।
युवा तथा खेलकुद मन्त्रि जगत बहादुर बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिसद राखेपका सदस्यसचिब केशब कुमार बिष्टले लोगो र मस्कट सार्वजनिक गरे ।
लोगो र मस्कट खुल्ला छनोट प्रतिस्पर्धाबाट छनोट गरिएको हो । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । उनले ४ प्रतिस्पर्धीलाई पछि बनाएका थिए ।
लोगोमा शान्तिको प्रतिक परेवाको आकृतिमा लोगो डिजाइन गरिएको छ । जसले सार्क राष्ट्रबीच आपसी एकता,भाईचारा र स्वतन्त्र रुपमा उच्च लक्ष्यको प्राप्तिको चाहनालाई दर्शाउने छ ।
लोगो डिजाइन गरेवापत पौडेलले १ लाख नगद पुरस्कार समेत पाएका छन् ।
लोगो र मस्कट सार्वजनिक कार्यक्रममा बोल्दै राखेप सदस्यसचिब बिष्टले पूर्वाधारको कारणले साग नरोकिने बताए ।
'असार र साउन भित्र रंगशालाको निर्माण कार्य सकिन्छ । साउन भित्र पोखरा रंगशालाको काम सकिन्छ । मङ्सिर भित्र सबै काम सकिन्छ । पूर्वधारको कारण साग रोकिन्न,' सदस्यसचिब बिष्टले भने ।
यस्तै सदस्यसचिब बिष्टले प्रतियोगिताको लागि अनिमनित ४ अर्ब खर्च हुने बताए । बजेटकाे निर्धारण गर्न पिताम्बर तिम्सिनाको सयोजकमा कमिटि र गंगाबहादुर थापाको सयोजकमा प्राविधिक समिति गठन भएको समेत सदस्यसचिब बिष्टले जानकारी गराए ।
प्रतियोगिताको लागि नेपालले आठौं राष्ट्रिय खेलकुदको आधारमा खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने छ । यस्तै अन्तिम चरणको छनोट दशैँ अघि सकिने राखेप च्याम्पियनसिपबाट गरिने सदस्यसचिब बिष्टले जानकारी गराए ।