काठमाडौं । आयोजक पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गर्ल्सको थ्री बाइ थ्रीमा च्याम्पियन बनेका हुन् ।
सिनियर ब्वाइजको फाइनलमा पुष्पसदनले राराहिललाई ७३–४५ अंकले सहजै पराजित गर्यो । पुष्पसदनका सम्राट लामाले १९ स्कोर गरे । जुनियर ब्वाइजको फाइनलमा ग्रिनफिल्डले राराहिललाई २८–२५ ले हरायो । ग्रिनफिल्डका लागि सोहन नेवाले १० अंक जोडेका थिए ।
गर्ल्सको उपाधि भिडन्तमा स्वर्णिमले पुष्पसदनलाई १०–३ ले पाखा लगायो । स्वर्णिमकी हिसी ल्हामु लामाले ५ अंक जोडिन् । सिनियर ब्वाइजमा पुष्पसदनका सुशान सोजु श्रेष्ठ, जुनियर ब्वाइजमा ग्रिनफिल्डका किस्मत ढकाल र सिनियर गर्ल्समा हिसी ल्हामु लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
सिनियर ब्वाइजमा मेगसका सिमोन सिजाली, जुनियर ब्वाइजमा पुष्पसदनका विनम्र थापामगर र सिनियर गर्ल्समा नि:सर्ग वाटिकाकी इशाना श्रेष्ठ उदीयमान खेलाडी चुनिए । सिनियर ब्वाइजमा युनाइटेड युनिभर्सल, जुनियर ब्वाइजमा बाघभैरव र सिनियर गर्ल्समा कुलेश्वरले अनुशासित टिमको पुरस्कार हात पारेका थिए ।
विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, कीर्तिपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष दिनेश श्रेष्ठ, पुष्पसदनका संस्थापक अध्यक्ष महेश श्रेष्ठ, प्रिन्सिपल मनीषा श्रेष्ठ र भाइस प्रिन्सिपल निमा लामा, पुष्पसदनका पूर्व विद्यार्थी राष्ट्रिय पुरुष बास्केटबल टोलीका निश्चल महर्जनलगायतले पुरस्कार वितरण गरेका थिए ।