काठमाडौं । नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगिता बारे जानकारी गराइन् । संघले वार्षिक कार्यक्रमअनुसार बैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा बैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगिताका खेलहरू ललितपुरको च्यासल फुटबल मैदानमा हुने हुने छन् । पुरुषमा ८ तथा महिलामा ४ टिमले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा मधेश प्रदेश, कर्णाली प्रदेश, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश बागमती प्रदेश, नेपाल पुलिस क्लब र एपिएफ क्लब सहभागी हुने छन् । एपिएफ हक्कीमा नयाँ टिम रहेको आयोजकले जनाएको छ । पुरुषमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिग कम नकआउट आधारमा हुने भएको छ ।
महिलामा सहभागी हुने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ । पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई दुई हजार नगदबाट पुरस्कृत गरिने छ । राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख र महिलामा २५ लाख खर्च हुने आयोजक संघका सचिव असिम शर्माले जानकारी गराए । संघकी महासचिव सुवर्णले आफ्नो कार्यकालमा हक्कीको वार्षिक क्यालेन्डर नै तयार गरी कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइन् । उनले हक्कीको पूर्वाधार नभइरहेको अवस्थामा अहिले पूर्वाधार निर्माणका लागि धुलिखेलमा जग्गासमेत प्राप्त गरिसकेको उल्लेख गरिन् ।
उनले पूर्वाधारको डिपीआरसमेत तयार भइसकेको र सोचेअनुरुप काम अगाडि बढेमा दुई वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने विश्वास व्यक्त गरिन् । यसले खेलाडीलाई टर्फमै प्रशिक्षण गराउन र राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनामा पनि सहज संघको विश्वास छ ।