धुलिखेल । विभागीय टोली आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ४-१ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।
धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई गोल गरिन । सिमा खड्का र कमला चन्दले एक एक गोल गरिन । उता गण्डकीका लागि सीता माया बलले एक गोल फर्काइन ।
आर्मीका लागि खेलको चौथो मिनेटमा सरस्वतीले गोल गर्दै टिमलाई अग्रता दिलाइन । उता गण्डकीका लागि खेलको १६औं मिनेटमा सीताले गोल गर्दै टिमलाई बराबरीमा ल्याइन । खेलको १८औं मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई २(१ गोलको अग्रता दिलाइन । खेलको २४औं मिनेटमा कमलाले गोल गर्दै टिमलाई ३-१ गोलको अग्रता दिलाइन ।
खेलको ५७औं मिनेटमा सिमाले गोल गर्दै आर्मीलाई उपाधि दिलाउन सफल भइन । फाइनल खेलको प्लेअर अफ द म्याच कमला चन्द चुनिन। उपाधिसँगै आर्मीले एक लाख रुपैयाँ प्रप्त गरेको छ । दोस्रो हुने गण्डकीले ७५ हजार प्राप्त गरेको छ ।
तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १-० गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल गर्यो । सुदूरपश्चिम प्रदेशका लागि खेलको २७औं मिनेटमा बबिता उराउले गोल गर्दै टिमलाई जित दिलाउन सफल भइन ।
त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकि सरस्वती बेस्ट स्कोरर हुन सफल भइन । प्रतियोगिताका इमर्जिङ प्लेअर सुदूरपश्चिम प्रदेशकि नमिता एसके चुनिइन । बेस्ट गोलकिपरमा गण्डकीकि गोमा परियार, बेस्ट डिफेन्डरमा आर्मीकि सरिता मेचे र आर्मीकै निलिमा पान्डे प्लेअर अफ द टुर्नामेन्ट चुनिन ।
प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको थियो ।