काठमाडौं । नेपालकी एरिका गुरुङले हानझाओमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत कराँतेमा ऐतिहासिक रजत पदक प्राप्त गरेकी छिन् । शनिबार महिला ६८ केजी तौल समूहको फाइनलमा ओलम्पिक पदकधारी कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग ३–० ले पराजित हुँदा एरिका रजतमा सिमित भइन् ।
एरिका गुरुङलाई फाइनलमा जित निकाल्दै नेपालकालागि एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक हासिल गर्ने अवसर थियो । तर, एरिकाले फाइनलमा काजकिस्तानकी ओलम्पिक पदकधारी खेलाडी सोफ्याको चुनौती पन्छाउन सकिनन् ।
एरिका गुरुङले कराँते इतिहासमा नै एसियाडको पहिलो रजत पदक जितेकी हुन् । नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३ औं एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत पदक दिलाएकी थिइन् । यस्तै पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा जकार्तामा भएको १८ औं एसियन गेम्समा प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो ।
एरिकाले यसअघि सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । उनले ८-४ को अन्तरमा जित दर्ता गर्दै स्वर्ण पदक भिडन्त पक्का गरेकी थिइन् ।
यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन् । उनले १-१ को बराबरी हुँदा सेन्शु (पहिलो अंक जोडेको) आधारमा जित निकालेकी थिइन् । यसअघि नेपालको महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।
एसियाड इतिहासमा यो समग्रमा नेपालको २६ औं पदक हो । यसअघि नेपालले १८ औं संस्करणसम्म आइपुग्दा २ रजत र २२ कास्यसहित २४ पदक जितेको थियो । यसपटक नेपालले १ रजत र १ कास्य पक्का गरिसकेको छ । अब करातेमै ५० केजी समूहमा सविना श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ ।
एसियाली खेलकुदमा एकै संस्करणमा नेपालले १७ वर्षपछि दुई पदक जितेको हो । सन् २०१० र २०१४ मा कास्य पदकमा सिमित नेपाली टोलीले २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एसियाली खेलकुदमा प्याराग्लाइडीङबाट एकल रजत पदक जितेर फर्केको थियो ।