काठमाडौं । लिगको अन्तिम खेलमा होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९मा साविक विजेता एपिएफलाई पराजित गरेको छ । दुवै टोली फाईनल प्रवेश गरिसकेको अवस्थामा औपचारिकताका लागि मात्र खेलिएको प्रतियोगितामा न्यु डायमन्डले जित निकालेको हो ।
यस जित संगै न्यु डायमन्डले लिगका तीन वटै खेल जित्दै ९ अंक बनाउन सफल भयो । पहिलो र दोश्रो सेट २५–२१, २५–१९ ले जितेको डायमन्ड तेश्रो सेटमा २१–२५ ले एपिएफलाई सुम्पेपछि खेल २–१ को अवस्थामा पुग्यो । डायमन्डले चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै ३–१ का साथ जित निकाल्यो । डायमन्डकी सलिना बुढामगर प्लेयर अफ दी म्याच घोषित भईन् । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् ।
शेरबहादुर स्मृती प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा पुलिस र आर्मीविच भएको खेलमा पुलिसले जित निकाल्यो । पुलिसले निकैनै प्रतिस्पर्धात्मक खेलमा आर्मीलाई २४–२६, २६–२४, २६–२४, २५–२० ले पराजित गर्यो । दुवै टोली फाईनल प्रतिस्पर्धाबाट बाहिरी सकेको अवस्थामा यो खेला औपचारीक मात्र रह्यो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ दी म्याच घोषित हुँदै नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् ।
प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।
प्रतियोगितामा तीन विभागिय टोली सहित न्यु डायमन्डको सहभागिता रहेको छ । प्रतियोगिताको चौथो दिन भोली मंगलबार साविक विजेता एपिएफ र होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबविच उपाधीका लागि भिडन्त हुनेछ भने तेश्रो र चौथो स्थानका लागि पुलिस र आर्मीको प्रतिस्पर्धा हुने छ ।