काठमाडौं । साविक विजेता एपिएफ क्लब र होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लब छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेका छन् । ४ टिमको सहभागिता रहेको प्रतियोगितामा दुवै टोलीले समान २ खेलमा जित हात पार्दै ६–६ अंकका साथ उपाधी भिडन्त पक्का गरेका हुन् ।
शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा साविक विजेता एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–२१, २५–१५ को सहज जित हात पार्यो ।
पहिलो दिनको खेलमा सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबलाइ ३–० ले पराजित गर्दै ३ अंक बटुलेको एपिएफले ६ अंक बनाउन सफल भयो । एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ दी म्याच घोषित भईन् । उनले नगद १० हजारका साथै ट्रफी प्राप्त गरिन् ।
यस्तै दोश्रो खेलमा पहिलो दिन आर्मीलाई पराजित गर्दै ३ अंक जोडेको न्यु डायमन्डले नेपाल पुलिसलाई ३–१ सेटले पराजित गर्दै ६ अंकका साथ फाईनल प्रवेश गरेको हो । अव उपाधीका लागि डायमन्डले साविक विजेता एपिएफको सामना गर्ने छ ।
पहिलो सेट २२–२५ ले पुलिसलाई सुम्पेको डायमन्ड बाँकी तीन सेट २५–१५, २५–२२ र २५–१९ ले जित्दै फाईनल यात्रा तय गरेको हो । न्यु डायमन्डकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित हुदै नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् ।
प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।
प्रतियोगितामा तीन विभागिय टोली सहित न्यु डायमन्डको सहभागिता रहेको छ । राउण्ड रोविन लिगको अन्तिम खेल भोलीे (सोमबार) एपिएफ र न्यु डायमन्डविच पहिलो खेल १ बजे र दोश्रो खेल आर्मी र पुलिस विच ३ः३० बजे हुनेछ ।