काठमाडौं । विनेश खनियाँ र नवीता श्रेष्ठले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । नेपाल प्रहरी क्लबद्वय विनेश पुरुष र नवीता महिला सिंगल्समा च्याम्पियन हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा विनेशले भारतको ग्लोबल टेबलटेनिस एकेडेमीका सन्तोष कुमार रमेशलाई ७–११, ११–५, ११–९, १५–१३, १०–१२ र ११–३ को सेटमा पराजित गरे । भारतको वाइल्ड कार्डका प्रशन्न कुमार र ग्लोबलका भ्रिसिन बभनका तेश्रो भए ।
सम्झना ल्याबोरेटरी क्लिनिक प्रा.लि. को मुख्य प्रायोजनमा ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा नौपल्टकी राष्ट्रिय च्याम्पियन नवीताले कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जनलाई ११–२, ११–३, ११–३ र ११–५ को सोझो सेटमा हराइन् । प्रहरीकी एलिना महर्जन र कान्तिपुरकी दिया देउला तेश्रो बने ।
विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिताको टिम इभेन्ट तर्फ पुरुषमा ग्लोबल तथा महिलामा प्रहरीले स्वर्ण जितेका थिए । त्यस्तै भेट्रानको पुरुष सिंगल्स ४० वर्षमाथि गल्कोपाखा समाज सेवाका चन्दन शाही तथा ५५ वर्षमाथि एनसीसीएसका कपुर शर्मा पौडेल पहिलो बनेका थिए । भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा ज्ञानभैरव डिल्ली बजार टेबलटेनिस क्लबकी इन्दिार पौडेल पराजुलीले स्वर्ण जितेकी थिइन् ।
पुरुष÷महिला सिंगल्स तथा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाए । भेट्रानमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, सम्झनाकी प्रमुख कार्यकारी अधिकृत रजना जोशी, आयोजक क्लबका अध्यक्ष उर्दिप जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा ४ पटकका राष्ट्रिय च्याम्पियन पूर्व टेबलटेनिस खेलाडी दिगम्बरमान सुवाललाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो । मिस नेवा सलिना महर्जन पनि सम्मानित भइन् ।
पाँचदिने प्रतियोगितामा २ सय पुरुष र ५६ महिला गरी २ सय ५६ खेलाडी सहभागी थिए । सहभागी मध्ये सबैभन्दा कम उमेरमा स्ट्याग च्याम्पियन्स एकेडेमीकी ७ वर्षीया प्राज्ना महर्जन रहिन् । बढी उमेरमा ८१ वर्षीया शान्तिदेवी मानन्धर थिइन् ।