काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि पूर्व कप्तान सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ । यसअघिको २८ सदस्यीय टोलीबाट १० जना कटौती गर्दै बिहिवार सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरिएको हो ।
बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई कप्तानसहित टिमबाट पनि निलम्बन गरेको थियो । गत पुस २८ गते उच्च अदालत पाटनबाट २० लाख धरौटीमा रिहा भएका सन्दीपमाथिको निलम्बन क्यानले गएको मंगलबार फुकुवा गरेको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने शृंखलाका लागि यसअघि नेपाल क्रिकेट संघ क्यानले पहिलो चरणको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको थियो । त्यसबेला सन्दीप लामिछाने र प्रतिश जिसी थिएनन् ।
नेपाल टि-२० लिगमा प्रतिश जिसीले पोखरा एभेन्जर्सबाट बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका तीव्र गतिका बलर प्रतिश तल्लोक्रममा ठूला सट खेल्ने गर्दछन् । बागमातीबाट घरेलु क्रिकेट खेल्ने प्रतिशले नेपालको यू-१६ र यू-१९ टोलीबाट खेलि सकेका छन् । नेपालले पछिल्लो नामिबिया भ्रमण गर्दा प्रतिश अन्तिम १८ मा टोलीमा थिए ।
दोस्रो चरणमा सन्दीप लामिछाने र प्रतिश जिसीसँगै रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, ललित राजवंशी, सन्दीप जोरा, भिम शार्की, कमल सिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद छन् ।
यसअघिको टोलीबाट शरद भेषावकर, विनोद भण्डारी, सिद्धान्त लोहनी, अभिनाश बोहरा, विवेक यादव, अनिल साह, विक्रम सोब, भुवन कार्की, अंकित सुवेदी र सागर ढकाल बाहिरिएका छन् ।
शृंखलामा नेपालले पहिलो खेल फागुन २ गते नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ गते स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ गते नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९ गते स्कटल्यान्डसँग खेल्नेछ ।
दोस्रो चरणमा परेका खेलाडीहरू :