काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको मुद्दामा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको कार्यसमितिको बोर्ड बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । उनीविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
नाबालिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी गरेको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका सन्दीपलाई गत पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
यद्यपी पाटन उच्च अदालतको आदेशमा २० लाख धरौटीमा रिहा भएका लामिछानेलाई थुनामै राख्न भन्दै मंगलबार सर्वोच्चमा निवेदन परेको छ । उच्च अदालत पाटनले लामिछानेलाई गत पुस २८ गते २० लाख धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको हो ।
यस्तै, नेपाल टी–२० लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले लिगमा विभिन्न विवादका कारण आलोचनापछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको छ ।
क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमसहित दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले माघ १५ काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यसम्पादन समितिका रहेकाहरूले राजीनामा दिनुपर्ने माग गरेका थिए । उनीहरूले मंगलबार लिखित रुपमा बोर्ड बैठकमा राजीनामाको माग गरेका हुन् ।
त्यस्तै, पोखरामा बसेको क्यानको बोर्ड बैठकले जेठमा निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचनको मिति भने सुर्खेतमा आगामी फागुन १४ र १५ गते हुने साधारणसभाले तय गर्नेछ । यस्तै, नेपालले एसियन क्रिकेट काउन्सिल (एसिसी) को एकदिवसीय प्रिमियर कप अप्रिलमा आयोजना गर्ने भएको छ ।