काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ । एन्फाले मंगलबार बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको हो । टोली बुधबार बंगलादेश प्रस्थान गर्ने छन् ।
बिदाइ कार्यक्रममा एन्फाका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, सदस्य पुरुषोत्तम थापा, पेमा डोल्मा लामा र सरिला श्रेष्ठ तथा महासचिव किरण राईको उपस्थिति रहेको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष खड्का र एन्फा महासचिव राईले टोलीलाई च्याम्पियनसिपको सफलताको शुभकामना व्यक्त गरेका थिए । टोलीले ढाकामा २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुने च्याम्पियनसिपमा भाग लिनेछ ।
च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा मुख्य प्रशिक्षक यम गुरुङले २३ सदस्सीय टोलीको घोषणा गरेका छन् । प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
नेपालले प्रतियोगिताको पहिलो खेल फेब्रुअरी ३ मा आयोजक बंगलादेशसँग खेल्नेछ । यस्तै, नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली अन्तिम टोली :
गोलकिपर : कविता विक, सावित्री किशन, लिला जोशी
डिफेन्डर : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द