काठमाडौं । सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । इटहरीको जनता क्रिकेट पार्क मैदानमा शनिबार भएको फाइनल खेलमा प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो ।
घरेलु टोली प्रदेश एकले जितका लागि दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर १०२ रन जोड्दै लक्ष्य पूरा गरेको हो । सुदुरपश्चिमको जितमा सम्झना खड्काले ३३ बलमा २ चौकासहित अविजित २७ रन जोडिन् ।
डली भट्टले १६ बलमा १ चौका र २ छक्कासहित २२ रनको योगदान गरिन् । कविता कुँवरले १२ रन र कविता जोशी १९ रनमा अविजित रहिन् । बलिङमा प्रदेश एकको लागि सवनम राई, हिरनमई रोय, कप्तान रुविना क्षेत्री र संगीता राईले समान एक/एक विकेट लिइन् ।
त्यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा ५ विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको थियो । प्रदेश एकको लागि ओपनर काजल श्रेष्ठ ६३ बलमा ८ चौकासहित सर्वाधिक ४८ रनमा अविजित रहिन् ।
यस्तै, अप्सरी बेगमले १५ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन् । त्यसपछिका ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रदेश एकले १५ अतिरिक्त रन पाएको थियो ।बलिङमा सुदूरपश्चिमकी मनिषा चौधरीले २ विकेट तथा श्रतु कनोजियाले १ विकेट लिइन् । प्रदेश एकका दुई ब्याटर रनआउट भएका थिए ।
सुदुरपश्चिम प्रदेशले पहिलो पटक प्रधानमन्त्री कपको उपाधि उचालेको हो । उपाधिसँगै सुदुरपश्चिमले ५ लाख र उपविजेता प्रदेश एकले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् । पुस २९ देखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र विभागीय टोली एपीएफको सहभागिता थियो ।
सुदूरपश्चिम प्रदेशकी कविता कुँवर सुनसरी प्लेयर अफ द च्वाइस घोषित भएकी छिन् । जसवापत कविताले स्कुटर प्राप्त गरिन् । कविताले सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर अवार्ड समेत जितेकी छिन् । उनले सर्वोत्कृष्ट खेलाडी वापत ३० हजार र उत्कृष्ट ब्याटरको रुपमा २० हजार प्राप्त गरिन् ।
सुदूरपश्चिमकै मनिषा चौधरी प्रतियोगिताको उत्कृष्ट बलर चुनिइन् । सुदूरपश्चिमलाई पहिलो पटक च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गर्नेक्रममा उनले ५ खेलमा २० ओभर बलिङ गर्दै ७८ रन खर्चेर ११ विकेट लिएकी थिइन् । उनले उत्कृष्ट बलरको रुपमा २० हजार प्राप्त गरिन् ।