काठमाडौं । इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । जनता क्रिकेट पार्क मैदानमा बुधबार भएको खेलमा लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै मधेस अन्तिम चारमा पुगेको हो ।
मधेस प्रदेशले समूह 'बी' बाट अन्तिम चारमा स्थान बनाएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । यसअघि, समूह 'ए' बाट सुदूरपश्चिम समूह विजेता र एपिएफ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका थिए । यस्तै, समूह 'बी' बाट प्रदेश १ समूह विजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।
मधेसले जितको लागि दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । लुम्बिनीका रन्जु श्रेष्ठ र मधु डिसीले अविजित समान २१/२१ रन बनाएपनि टिमको हार टार्न सकेनन् ।
ओपनर लक्ष्मी चौधरीले १२ रन जोड्दा आश्मा पुलमी मगर र कप्तान सरस्वती घर्तिमगरले समान ११/११ रन जोडे । मधेसकी भुमी सिंहले दुई विकेट लिँदा अमिरन निशाले एक विकेट लिइन् ।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले २० ओभरमा ५ विकेटकाे क्षतिमा १ सय ७ रन बनाएको थियो । मधेसका लागि साना प्रविनले ६४ बलमा पाँच चौका मद्दतमा सर्वाधिक ४६ तथा रोजी कडारीले १५ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
मधेसले २७ रन अतिरिक्त पाएको थियो । लुम्बिनीका लागि मनिषा राना, सरस्वती पुन र बिवास्ना जिसीले समान एक/एक विकेट लिए । मधेस प्रदेशबाट उत्कृष्ट प्रदर्शन गरेकी साना प्रविन ‘प्लेयर अफ द म्याच’ भइन् ।
प्रतियोगितामा शुक्रवार सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा दोस्रो सेमिफाइनल खेल विभागीय टोली एपिएफ र प्रदेश १ बीच हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका 'प्लेयर अफ द म्याच'ले ३ हजार प्राप्त गर्नेछन् ।