काठमाडौं । सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–१ ले लगातार तेस्रो जित निकालेको छ । जनता क्रिकेट पार्क मैदानमा मंगलबार भएको खेलमा प्रदेश-१ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै समूह 'बी'बाट विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मैदान ओसिलो भएको कारण ११ ओभरमा झारिएको खेलमा कर्णाली प्रदेशले प्रदेश-१ लाई ४० रनको समान्य लक्ष्य दिएको थियो । कर्णालीले दिएको लक्ष्य प्रदेश-१ ले ४ ओभर ५ बलमा बिना विकेटको क्षतिमा ४० रन जोड्दै पूरा गरेको हो । प्रदेश १ को जितमा कप्तान रुविना क्षेत्रीले २२ तथा काजल श्रेष्ठले १३ रनको नटआउट योगदान गरे ।
यसअघि खेलमा टस जितेर ब्याटिङमा आएको कर्णालीले ११ ओभरमा ५ विकेट गुमाएर ३९ रनको सामान्य योगफल तयार पारेको थियो । कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रदेश १ का लागि ज्योति दनुवार, रुविना क्षेत्री, संगिता राई र काजोल राजवंशीले समान एक/एक विकेट लिए । जितसँगै प्रदेश-१ ले ३ खेलमा ६ अंक जोडेर समूह 'बी' को शीर्ष स्थानमा रहेको छ । पराजित कर्णाली ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ । प्रदेश १ बाट अलराउण्ड प्रदर्शन गरेकी कप्तान रुविना क्षेत्री ‘प्लेयर अफ द म्याच’ भइन् ।
प्रतियोगितामा एक विभागीय टोलीसहित सात प्रदेशले सहभागिता जनाएका छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताका २ समूह विजेता र २ उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका 'प्लेयर अफ द म्याच'ले ३ हजार प्राप्त गर्नेछन् ।