काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा छुट्ने भएका छन् । नाबालिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी गरेको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका सन्दीपलाई बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
तर, लामिछानेले विदेश जान नपाउने भएका छन् । काठमाडौं उपत्यकाबाहिर जानुपरे वा उपत्यका छाड्नुपरे प्रहरीलाई सूचना दिएर जान पाउने अदालतले आदेश गरेको छ । त्यसैगरी जाहेरवाला वा पीडित परिवारसँग कुनै पनि किसिमको अन्तर्क्रिया भेटघाट गर्न रोक लगाउनुका साथै कुनै पनि किसिमको दबाब, प्रभाव र प्रलोभनमा नपार्न पनि आदेशमा भनेको छ ।
लामिछानेलाई धरौटीमा छाड्ने आदेशमा विभिन्न सर्त राखिएको र सर्त उल्लंघन गरेमा पुन पक्राउ गर्न सकिने व्यवस्था राखिएको छ । २० पृष्ठ लामो आदेशमा सर्तसहित धरौटी खोलिएको छ । उनीविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो । प्रहरीका अनुसार काठमाडौंको एक कलेजमा प्लस टु अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो ।
पीडितका अनुसार सामाजिक सञ्जालमार्फत लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए । लामिछाने त्यसबेला टी–२० सिरिज खेल्न केन्या जाने तयारीमा थिए । अघिल्लो दिन ५ भदौमा नयाँ बानेश्वरस्थित होस्टलबाट लिएर भक्तपुर दरबार स्क्वायरबाट नगरकोटसम्म लगेको पीडितको बयान छ ।
नियतवश नगरकोटमा धेरैबेर अल्मल्याएर अवेर मात्र काठमाडौं फर्काएको उनको भनाइ थियो । पिंगलास्थानस्थित होटलमा त्यहीँ राति आफूमाथि दुई पटक जबरजस्ती करणी भएको पीडितको भनाइ छ ।
तर, सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन् । पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको छ ।
लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ । प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान थालेपछि इन्टरपोटलमा पनि उनीविरुद्ध नोटिस जारी भएपछि ‘आत्मसमर्पण गर्ने’ भन्दै नेपाल फर्किएका थिए । असोज २० गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।