काठमाडौं । लुम्बिनी अल स्टार पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगको च्याम्पियन बनेको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।
जितका लागि लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए ।
पृथु बास्कोटाले ३१ र हुसैन तलातले १३ बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले समान २/२ विकेट लिए । विपुल शर्मा र किशोर महतोले समान १/१ विकेट लिए ।
यसअघि, टस जितेर ब्याटिङमा आएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर १३३ रनको योगफल खडा गरेको थियो । लुम्बिनीका लागि ओपनर लहिरू मिलन्थाले २८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए । अर्का ओपनर हर्मित सिंहले ३० रन बनाए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले २० र इसान पाण्डेले १८ रन बनाए । विराटनगरका लागि राज रक्की नानन र नन्दन यादवले समान २/२ विकेट लिए । यस्तै, हुसैन तलात, किओन जोसेफ, सुर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान १/१ विकेट लिए । लुम्बिनीबाट अलराउण्ड प्रदर्शन गरेका हर्मित सिंह ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियाेगिताको १२ खेलमा २ हार ब्यहाेरेकाे च्याम्पियन लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएकाे छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएकाे छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रूपैयाँ पुरस्कार पाएकाे छ ।
विराटनगर सुपर किंग्सका हुसेन तालत नेपाल टि-२० लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । तालतले १३ खेलमा ३ सय ६७ रन बनाउनुको साथै १० विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।
काठमाडौं नाइट्सका अभिनाश बोहरा नेपाल टि-२० लिगको उत्कृष्ट बलर चुनिएका छन् । तीव्र गतिका बलर बोहराले प्रतियोगिता भर ११ खेलमा शीर्ष १९ विकेट लिएका उनले २ लाख ५० हजार प्राप्त गरे ।
फार वेस्ट युनाइटेडका हश्मातुल्लाह शाहिदी नेपाल टि-२० लिगको उत्कृष्ट ब्याटर चुनिएका छन् । शाहिदीले प्रतियोगिता भर १० खेलमा ४ अर्धशतक सहित शीर्ष ४ सय रन बनाएका उनले २ लाख ५० हजार प्राप्त गरे ।
विराटनगर सुपर किंग्सका सूर्य तामाङ नेपाल टि-२० लिगको उदीयमान खेलाडी चुनिएका छन् । बायाँ हाते स्पिनर तामाङले प्रतियोगिता भर ८ खेलमा २६.४ ओभर बलिङ गर्दै १ सय १६ रन खर्चेर कुल १२ विकेट लिएका उनले १ लाख ८० हजार रुपैयाँ प्राप्त गरे ।
यही पुस ९ देखि सुरु भएको प्रतियोगितामा काठमाडौँ नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार, फार वेस्ट युनाइटेड, विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स गरी ६ टोली सहभागिता रहेको थियो ।