काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।
जितका लागि विराटनगरले दिएको १६८ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १२८ रनमात्र बनाउन सक्यो । जनकपुरले दुईपटक क्वालिफायर खेल्दा पनि फाइनल पुग्ने मौका गुमायो । जनकपुरका चाडविक वाल्टनले ४७ बलमा ६ चौकासहित सर्वाधिक ५१ रनको अर्धशतक बनाएपनि टिमलाई जित दिलाउन सकेनन् ।
कप्तान ट्रिभोन ग्रिफिथले ३४ र खडक बोहराले १४ रन बनाए । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विराटनगरका लागि कियोन जोसेफले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । यस्तै, नन्दन यादव र राज रक्की नाननले समान २/२ विकेट लिदा सुर्य तामाङ र हुसैन तलातले समान १/१ विकेट लिएका थिए ।
यसअघि, टस जितेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल खडा गरेको थियो । विराटनगरका ओपनर गौरांशु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाएका थिए । अर्का ओपनर अर्जुन साउद २६ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा आउट भए ।
हुसैन तलातले ३१ रन र राज रक्की नाननले ३३ रन जोडे । विराटनगरका कप्तान रोहितकुमार पौडेल भने एक रनमै पभेलियन फर्किएका थिए । जनकपुरका लागि जितेन्द्र मुखियाले २ विकेट लिए । शराफुद्दिन अशरफ, ललितनारायण राजवंशी र समिउल्लाह शिनवारीले समान १/१ विकेट लिए ।
जितसंगै विराटनगरले उपाधिका लागि बुधबार लुम्बिनी अल स्टार्सको सामना गर्नेछ । लुम्बिनीले पहिलो क्वालिफारयरमा जनकपुरलाई ६ रनले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । विराटनगरबाट अलराउण्ड प्रदर्शन गरेका राज रक्की नानन ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।