काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा आइतबार भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो । लुम्बिनी शीर्ष स्थानमा र जनकपुर दोस्रो स्थानमा रहदै प्लेअफमा आएका थिए ।
जितका लागि पाएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १३७ रन मात्रै बनााउन सक्यो । जनकपुरका लागि शमिउल्लाह शिनवारीले सर्वाधिक ४५ रन बनाउँदा पवन सर्राफ ३० रनमा अविजित रहेका थिए ।
ओपनर शराफुद्दिन अशरफ २४ रन, राजेश पुलामीले १३ रन, कप्तान ट्रेभोन ग्रिफिथ १० रनमा आउट भए । लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान २/२ विकेट लिए । साड्ने भान स्कल्कोवाकले एक विकेट लिए ।
यसअघि, टस हारेपछि व्याटिङमा निम्त्याईएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रनको योगफल खडा गरेको थियो । लुम्बिनीका इसान पाण्डेले सर्वाधिक ३८ रन जोडेका थिए । अनिल साहले २४ रन, विपुल शर्माले २० रन, साड्ने भान स्कल्कोवाकले १७ रन र लहिरु मिलन्थाले १६ रन बनाए ।
जनकपुरका लागि असन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले समान २/२ विकेट लिएका थिए । यस्तै, ट्रिभोन ग्रिफित र सरफुद्दिन अस्रफले समान १/१ विकेट लिएका थिए । लुम्बिनीबाट अलराउण्ड प्रदर्शन गरेका विपुल शर्मा ‘प्लेयर अफ द म्याच’ भए ।
लुम्बिनी अल स्टारले अब उपाधिका लागि दोस्रो क्वालिफायरमा जित निकाल्ने टिमसँग खेल्नेछ । जनकपुर रोयल्स भने अब इलिमिनेटरमा जित निकाल्ने टिमसँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटरमा सोमबार विराटनगर सुपर किङ्स र काठमाडौं नाईट्स भिड्दै छन् ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।