काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स प्लेअफ प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा विराटनगरले काठमाडौं नाईट्सलाई ७ विकेटले पराजित गर्दै प्लेअफमा पुगेको हो ।
काठमाडौं भने आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स फारवेष्ट युनाइटेडसँग पराजित वा पोखराको जित अन्तर निकै झिनो भएको खण्डमा मात्र प्लेअफ पुग्ने सम्भावना रहन्छ ।
काठमाडौंले दिएको १५५ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा ३ विकेट मात्रै गुमाउँदै १६० रन बनाएर जित हात पार्यो । विराटनगरको जितका लागि कप्तान रोहितकुमार पौडेलले ४२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय पारी खेल्दै रन आउट भएका थिए ।
त्यस्तै, ओपनर गौरान्सु शर्माले ४९ बलमा ४ चौका सहयोगमा ५१ रनको अर्धशतकीय पारीसहित अविजित रहे । विवेककुमार यादव २ बलमा १ चौका र १ छक्कासहित १० रनमा अविजित रहे । हुसेन तलत २१ रनमा आउट भएका थिए । काठमाडौंका लागि अभिनाश बोहराले ३.४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रनको योगफल तयार पारेको थियो । काठमाडौंका लागि ओपनर सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४/३४ रन बनाएका थिए । सन्दीप रजालीले २४ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाए ।
कप्तान ज्ञानेन्द्र मल्ल २२ रन र वसिर अहमद १७ रनमा अविजित रहे । विराटनगरका स्पिनर राज ननन्ले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक ४ विकेट लिएका थिए । नन्दन यादव र रोहितकुमार पौडेलले समान १/१ विकेट लिए ।
जितसँगै विराटनगर सुपर किंग्स १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ प्लेअफ पुग्ने तेस्रो टिम बनेको छ । पराजित काठमाडौं १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा रहेको छ । विराटनगरबाट उत्कृष्ट प्रदर्शन गरेका कप्तान रोहितकुमार पौडेल ‘प्लेयर अफ द म्याच’ भए ।
प्रतियोगितामा विजेता टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।